• नेपाली फिल्ममा ‘आवरण’ बाट उदाएका दिव्य देव थियटरको परिचित नाम बनिसकेका छन् । डेब्यु फिल्ममै असफलता भोग्नुपरेको दिव्यको अभिनय क्षमताले थियटरमा न्याय पायो । थियटरमा देखाएको अभिनय कौशलताले नै उनलाई अफरको ताँती लागेको छ । यद्यपि उनले फिल्म भने निकै कम गरेका छन् ।

    आउँदो ४ चैतमा उनी अभिनित फिल्म ‘चिसो एस्ट्रे’ प्रदर्शनमा आउँदैछ । गाउँबाट सहरमा आउने मानिसका सपना एस्ट्रेको चुरोटझैँ निभ्दै जाने विषयलाई फिल्ममा प्रस्तुत गरिएको छ । भूपि शेरचनले धेरै पहिला नै काठमाडौँलाई चिसो एस्ट्रे रूपमा चित्रित गर्दै यहाँ आउने मानिस मुटुभरि आगो र ओठभरि ज्वाला बोकेर आउने र जानेहरू निभेका विश्वास र सपनाहरू सोहोरेर जाने भाव व्यक्त गरेका थिए । निर्देशक दिन्स पाल्पालीले भूपिको यही भावमा रहेर फिल्म तयार गरेको बताएका छन् ।

    २०७१ सालमै स्क्रिप्टलाई फिल्ममा उतार्ने तय भएको थियो । तर, सात वर्षपछि बल्ल प्रदर्शनमा आउँदैछ । यही फिल्ममा जोडिएपछि दिव्यले ‘रुदाने’ को अफरसमेत पाए । ‘मैले यो फिल्म पाएपछि आफूमा परिपक्वता पाएँ । त्यसपछि छानेको फिल्म र थियटरमा मञ्चन हुने नाटकले पनि मेरो करियरलाई उचाइ दिन मद्दत् गरेको छ,’ दिव्यले भने ।

    त्यसो त ‘चिसो एस्ट्रे’ मा ‘इन’ हुन उनलाई सहज थिएन । उनले अडिसन त दिए, निर्देशक पाल्पालीको विश्वास जित्न निकै कठिन भयो । ‘म त्यो समयमा अहिलेभन्दा पनि निकै पातलो थिए । त्यसैले गर्दा मैले पाएको क्यारेक्टरलाई न्याय गर्छु कि गर्दिनँ भन्नेमा निर्देशक आशंकित देखिनुभयो,’ उनी सम्झन्छन्, ‘निर्णय लिन समय लाग्यो । यद्यपि मेरो नाटक ह्याम्लेट हेरेकै कारण निर्माता भने विश्वस्त थिए ।’

    उनले त्यही प्रोसेसले गर्दा फिल्मको ‘कास्टिङ’ निकै बलियो बनेको बताए । ‘मैले मेरो साथी सर्कलमा फिल्मको कास्टिङको तारिफ सुनेको छु । यो फिल्म के कसो होला, तर हाम्रो फिल्म क्षेत्रले एउटा प्रतिभावान निर्देशक पाएको छ,’ दिव्य भन्छन्, ‘हामीले स्वरांकन नै दुईपटक गरेका छौँ । र, जुन जोशका साथ फिल्म सुरु भएको थियो अहिलेसम्म पनि त्यही ऊर्जा हामीमा छ ।’

    फिल्ममा दिव्यसँगै सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । फिल्म निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका सिनेमा बनाउने अभिलाषामा फिल्म निर्माणमा संलग्न भएको बताए ।

    दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । यसमा सहनिर्मातामा भने रूपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् । निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

4565