• इटहरी । पूर्वी नेपालको मनोरञ्जन क्षेत्रलाई सांगीतिक उत्सवले थप रंगीन बनाएको छ। सुनसरीको इटहरीमा जारी ‘सांगीतिक महोत्सव २०८३’ मा राष्ट्रियस्तरका चर्चित गायक, गायिका तथा विभिन्न सांगीतिक समूहको प्रस्तुतिले दर्शकलाई आकर्षित गरिरहेको छ। गीतसंगीत, नृत्य र मनोरञ्जनको संगम बनेको महोत्सवले इटहरीको माहोल नै उत्सवमय बनाएको छ।

    नेपाल आर्म रेस्लिङ विकास संघको आयोजनामा इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको महोत्सवमा हरेक दिन फरक–फरक कलाकारको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेको छ। पूर्ण राई एण्ड दाजुभाइहरू, सुजन राई एण्ड द फेबुलस, एलिना चौहान, रचना रिमाल, जुनु प्रसाईँ, प्रीति आले मगर, ट्राइबल रेन ब्याण्डलगायतका कलाकार तथा सांगीतिक समूह महोत्सवका मुख्य आकर्षण बनेका छन्।

    महोत्सवको आगामी कार्यक्रमलाई लिएर पनि दर्शकमाझ उत्साह बढेको छ। आयोजकका अनुसार कात्तिक १५ गते चर्चित गायिका प्रीति आले मगरले आफ्नो सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिनेछिन्। त्यसैगरी कात्तिक १६ गते चर्चित र्‍यापर जेम्सी, १७ गते ट्राइबल रेन ब्याण्ड तथा १९ गते गायक केहरसिंह लिम्बूको विशेष प्रस्तुति रहनेछ। फरक–फरक सांगीतिक स्वाद र लोकप्रिय कलाकारको उपस्थितिले महोत्सवमा थप रौनक थप्ने अपेक्षा गरिएको छ।

    असोज ३० गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा सांगीतिक कार्यक्रमका अतिरिक्त विभिन्न मनोरञ्जनात्मक गतिविधि, व्यापारिक स्टल तथा स्थानीय उत्पादनको प्रदर्शनीसमेत राखिएको छ। महोत्सवले स्थानीय व्यवसायीलाई व्यापारको अवसर प्रदान गर्नुका साथै इटहरीको आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने आयोजकको अपेक्षा छ।

    एक महिनासम्म चल्ने महोत्सवले इटहरीसहित सुनसरी, मोरङ र आसपासका जिल्लाका संगीतप्रेमीलाई एउटै थलोमा जोड्ने अवसर प्रदान गरेको छ। चर्चित कलाकारसँग प्रत्यक्ष रमाउने, साथीभाइ तथा परिवारसँग मनोरञ्जन लिने र सांगीतिक माहोलमा रमाउने अवसरका रूपमा महोत्सवलाई हेरिएको छ।

    आयोजकले आगामी दिनमा हुने विशेष सांगीतिक प्रस्तुतिमा सहभागी भई महोत्सवलाई सफल बनाउन सम्पूर्ण दर्शक तथा संगीतप्रेमीलाई आग्रह गरेका छन्।

4565