• मोरङ । ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई आँखासम्बन्धी स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित मोरङको ग्रामथान गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ। शिविरमा ११० जनाको आँखाको परीक्षण गर्दा १८ जनामा मोतीबिन्दुको समस्या पहिचान भएको छ।

    अहमदिया संघ नेपालको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानी, मोरङको प्राविधिक सहयोगमा ग्रामथान गाउँपालिका–२ स्थित श्री दुर्गा आधारभूत विद्यालयमा बुधबार शिविर सम्पन्न गरिएको हो। वार्षिक कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्य सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको संघले यस वर्ष पनि आँखा परीक्षण शिविर आयोजना गरेको हो।

    अहमदिया संघ नेपालका केन्द्रीय अध्यक्ष मोहम्मद इस्माइल मियाँको अध्यक्षता तथा ग्रामथान गाउँपालिका–२ का वडाध्यक्ष यादव खतिवडाको प्रमुख आतिथ्यमा शिविर सम्पन्न भएको थियो। शिविरमा स्थानीय क्षेत्रका ज्येष्ठ नागरिक, महिला तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

    आँखा परीक्षणका क्रममा मोतीबिन्दुको समस्या देखिएका १८ जनाको शल्यक्रियाका लागि विराटनगर आँखा अस्पतालमा आवश्यक व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। समयमै आँखाको परीक्षण नहुँदा दृष्टिसम्बन्धी समस्या जटिल बन्न सक्ने भएकाले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको केन्द्रीय अध्यक्ष मोहम्मद इस्माइल मियाँले बताए ।

    अहमदिया संघ ज्येष्ठ नागरिक संगठनका अध्यक्ष हैदर मियाँले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको जानकारी दिए। उनका अनुसार आँखाको सामान्य समस्या समयमै पहिचान गर्न सके दृष्टि गुम्ने जोखिमबाट बचाउन सकिने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ।

    प्रमुख अतिथि वडाध्यक्ष यादव खतिवडाले स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने यस्ता सामाजिक अभियानले नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने बताए। उनले स्वास्थ्य क्षेत्रमा संघसंस्थाले देखाएको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि स्थानीय तह र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

    स्थानीयवासीले गाउँमै आँखा परीक्षण गराउन पाउँदा सहज भएको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका थिए। विशेषगरी ज्येष्ठ नागरिकका लागि यस्ता शिविर निकै उपयोगी भएको उनीहरूको भनाइ थियो।

    अहमदिया संघ नेपालले स्वास्थ्य सेवासँगै विभिन्न समयमा सरसफाइ अभियान, खेलकुद प्रतियोगिता, विपद्का बेला राहत वितरणलगायत सामाजिक तथा मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको छ। सामाजिक सेवामार्फत मानवता, सद्भाव र परोपकारको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित संघले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

4565