• कोरोना कहरको पहिलो चरणका बेला सुदूरपश्चिमको अवस्था अस्तब्यस्त थियो । एकातिर रोगको महामारी अर्कोतिर बन्दाबन्दीले सबैको जनजीवन तहसनहस हुन थालेको थियो । विरामीहरुले नियमित सेवन गर्नुपर्ने औषधी पाउन सकिरहेका थिएनन्, अशक्त र अपाङ्गता भएकाहरुका सहारा सामग्रीहरु सकिएर सन्नाटामा थिए, विपन्न र मजदुरी गरेर गुजारा चलाउनु पर्ने परिवारहरुको चुल्ह्रो बल्न बन्द हुने अवस्था थियो ।

    यस्तै प्रकारका अनेक संकटको सामना गरिरहेका विपन्न तथा सहाराविहीनहरुको घर–आँगनमा एक्कासी केही न केही सहयोगी सामग्री ल्याएर टुप्लुक्क आइपुग्थे भरत शाह । आफ्नो घर–आँगनमा टुप्लुक्क भरतलाई देखेपछि कैयौं सहारा विहीनका आँखा खुसीले रसाएका हुन्थे, संकटको सामना गरिरहेका बेला टुप्लुक्क भरतलाई देखेपछि कतिपयले त उनलाई भगवानकै रुप ठान्थे र त्यही भन्थे पनि ।

    संकटमा सानोतिनो सहयोगको प्रयास गरिरहेका भरत शाह आफ्ना कामहरुको चर्चापरिचर्चा र वयान गरेर आफू चर्चामा पनि आउन चाहदैनथे । उनी भन्थे, ‘प्रचारप्रसार गर्नु त दुखमा परेकाहरुको संवेदनामाथि खेल्नु सरह हो । धेरै त मैले पनि के नै गर्न सकेको छु र । सानो प्रयास न हो ।’ तर उनलाई चिनेजानेकाहरु ‘उनी जहाँ लाग्यो त्यहीँ सफल ब्यक्ति’ का रुपमा बुझ्ने गरेका छन् ।

    कलिलै उमेरका भरत शाह हुन त सुदूरपश्चिममा मात्रै हैन, देशैभर धेरैले चिनेजानको युवा हुन् । सामाजिक सेवा र राजनीतिक क्षेत्रमा रुची राख्ने उनलाई धेरैले सहयोगी साथीका रुपमा लिन्थे । अझ, जहाँ लाग्यो त्यही काममा दत्तचित्त भएर लाग्ने उनको स्वभाव र क्षमता अनि आनीवानीले पनि धेरैले उनीमाथि भरोसा राखेको देखिन्थ्यो । लामो समय काठमाण्डौंमा रहेर विभिन्न क्षेत्रमा काम गरेका उनी पछिल्लो समय सुदूरपश्चिमको सेवामा केन्द्रित भएका थिए ।

    भरत शाहको अर्को परिचय जनसम्पर्क स्थापित गर्नमा अब्बलता पनि हो । उनी हर क्षेत्रमा कार्यरत तलदेखि माथिसम्मका सबैसँग तत्काल घुलमिल हुनसक्ने क्षमता भएका ब्यक्ति हुन् । राजनीति होस् कि सुरक्षा, प्रशासनिक निकायका हुन् कि ब्यापार ब्यवसाय वा सञ्चार क्षेत्र, अनि सर्वसाधारणसँग पनि उत्तिकै बहुत चाँडो घुलमिल हुन सक्ने र मित्रता कायम गर्नसक्ने खुबी भएकाले देशभरकै विभिन्न नेटवर्कमा थिए भरत शाह । उनको यस क्षमताको पनि धेरैले प्रशंशा गर्ने गर्छन् ।

    नेपालका चार धाममध्येको एक अछामको बैधनाथ धामको समीपमा जन्मेहुर्केका भरत शाहले एसएलसीसम्मको शिक्षा कालीमाटीकै स्थानीय विद्यालयबाट हासिल गरे । त्यसपछि उच्च शिक्षाका लागि उनी काठमाण्डौं हानिए । काठमाण्डौंमा बस्दा पनि उनले एकै क्षेत्रमा मात्र आफूलाई सीमित गरेनन् । राजनीति, जागिर र ब्यापार ब्यवसायमा समान रुची राखे । हुन त धेरैतिर खुट्टा राख्ने ब्यक्ति सफल हुन सक्दैनन् भन्छन् तर भरत शाहको हकमा त्यो भनाई अपवाद जस्तै भयो ।बामपन्थी राजनीतितर्फ आकर्षित उनी त्रिचन्द्र कलेजमा अध्ययरत रहेकै बेला विभिन्न सांगठनिक क्रियाकलापमा अग्रसर मात्र भएनन् त्यहाँ हुने विभिन्न आन्दोलनमा पनि अग्रमोर्चामा देखिन्थे ।

    त्यसैबेला उनी नेपालको सुरक्षा निकायमा पनि जागिरे भए । राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गतको स्थायी जागिर प्राप्तिको अवसरमा पुगेपछि त उनले आफूलाई झन् धेरै निखार्ने मौका पाए र त्यो मौका उनले चुकाएनन् पनि । पेशामा दक्षता अभिवृद्धि गर्नुका साथै त्यो प्लेटफर्मलाई पनि उनी जनसम्पर्क बढाउनमा भरपुर उपयोग गरे । तर उनको स्वभाव र रुची अनुसार उनले आफूलाई त्यसै जागिरमा लामो समय सीमित राखिरहन उपयूक्त ठानेनन् । जागिरबाट राजिनामा दिए ।


    प्रदेश सरकार गठन भएपछि उनीमा आफूलाई सुदूरपश्चिम प्रदेश सरकारका कुनै निकायलाई बाह्रय रुपमा सपोर्ट गर्ने अभिरुची जाग्यो । उनले लामै समय आन्तरिक मामिला तथा कानुन मन्त्रीको सचिवका रुपमा काम गर्दै बाह्रय सहयोग गरे । यसबाट उनले संघीयता, प्रदेश संरचनाको अवसर र चुनौतिलाई भित्रैबाट बुझ्ने मौका प्राप्त गरे । हरेक क्षेत्रका ब्यक्तिहरुसँग सम्बन्ध विस्तार गर्नसक्ने खुबी भएकै कारण भरतले अछाममा विभिन्न विकास निर्माणका कार्य, बजेट तथा योजना निर्माणमा पनि योगदान गर्न सफल भए ।

    पछिल्लो समय नेकपा एमालेको युवा संघमा क्रियाशील उनी हालै अछाममा भएको जिल्ला अधिवेशनमा आफू उम्मेदवार बनेको पदमा सानदार ढंगले विजय हासिल गर्न सफल भएका छन् । जिल्ला कमिटि सदस्यमा निर्वाचित भएका उनी आगामी दिनमा आफ्नो सम्पूर्ण समय भूगोलको राजनीतिमा समर्पित गर्ने उद्देश्य लिएको बताउँदै उनले भने ‘अहिलेसम्मका मेरा सबै अनुभव र भोगाई र सिकाइका आधारमा अब राजनीतिमा लगाउँछु । राजनीतिबाट नै हो समाज सुधार गर्न सकिने भन्ने विश्वास छ मेरो ।’ भरत शाहलाई हाम्रो पनी शुभकामना

4565