• भारतले नेपाल र भारतबीचको सीमा विवादको बिषयलाई राजनीतिकरण गर्न नहुने बताएको छ । उसले सीमा विवाद हल गर्न जिम्मेवारीपूर्ण ढंगले संवादमा बस्नुपर्ने समेत बताएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई सीमा समस्या हल गर्न संयुक्त संयन्त्र गठनका लागि आग्रह गरेको दुई घण्टापछि भारतीय बिदेशमन्त्रालयले सीमा विवादको बिषयमा आफ्नो धारणा बाहिर ल्याएको हो ।प्रधानमन्त्री देउवाको भारत भ्रमण अन्र्तगत अहिलेसम्म भएका छलफलबारे जानकारी दिन भारतीय बिदेश मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बिदेशसचिव हर्ष श्रृङ्गलाले सीमा विवाद हल गर्न जिम्मेवारीपूर्ण ढंगले संवाद हुनुपर्ने बताएका हुन ।

    सचिव श्रृङ्गलाले नेपालका प्रधानमन्त्रीले आज भएको संयुक्त पत्रकार सम्मेलनमा पनि सीमा समस्याको कुरा राखेको जानकारी दिए । प्रधानमन्त्रीस्तरमा भएको वार्तामा सीमा विवाद हल गर्न जिम्मेवारीपूर्ण ढंगले संवाद हुनुपर्छ र यसलाई राजनीतिकरण गरिनुहुंदैन भन्ने समझदारी भएको उनले जानकारी दिए ।

    सचिव श्रृङ्गलाले सीमा र सुरक्षा लगायतका बिषयमा वार्ता र संवादका आवश्यक रहेको भारतको पुरानै धारणा दोहोर्याए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवासंगको संयुक्त पत्रकार सम्मेलनमा सीमा विवादबारे केही बोलेका थिएनन्। भारतले साँढे दुई बर्षअघि नेपाली भूमि कालापानी क्षेत्र समेटेर राजनीतिक नक्सा ल्याएको थियो। त्यसको ६ महिनापछि नेपालले पनि कालापानीलाई राजनीतिक नक्सामा समेटेपछि दुई देशविच सीमा विवाद हुँदै आएको छ ।

    भारतीय बिदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा भारतीय बिदेश सचिव श्रृङ्गलाले देउवाको भ्रमणमा नेपाल भारतबीचका उर्जा, सीमापार कनेक्टिभीटि, राजनीतिक र आर्थिक सहकार्यका सबै बिषयमा रचनात्मक र फलदायी वार्ता भएको बताए ।

4565