• सरकारले अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको छ ।बुधबार मन्त्रालयले कोरोना भाइरसको नयाँ रुपको ओमिक्रोनबाट बच्न एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको हो ।

    अहिलेसम्म नेपालमा कोरानाको नयाँ रुप आइनसकेको भए पनि यसबाट बच्न अन्तर्राष्ट्रिय नाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको र परीक्षणको दायरा बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । उनले सरकारले विदेश जाने÷आउने कुराहरु, स्वास्थ्यका मापदण्ड उल्लंघन हुने खालका गतिविधिहरुलाई कम गर्न अनुरोध गरेको पनि जानकारी दिए ।

    सह प्रवक्ता अधिकारीले नेपालमा कोभिड–१९ का खोप अभियानहरु धेरै प्रभावकारी रहेको पाइएकोले खोप अभियानलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । उनले यो भेरियन्ट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले यो अवस्थालाई मध्यनजर गर्दै सरकारले विभिन्न नाका र स्थानहरुमा निगरानी बढाएको बताए ।

    सहप्रवक्ता अधिकारीले भने, ‘कोभिड १९ संक्रमण गराउने भाइरस डिसेम्बरको अन्तिममा सफल भएसँगै यसले आफ्नो रुपहरु परिवर्तन गर्दै गएको छ । यस किसिमको भाइरसले आफ्नो रुप परिवर्तन गर्न सक्छ भन्ने कुराहरु विश्वव्यापी रुपमा सम्बन्धित चिकित्सा विज्ञानका विज्ञहरुलाई पहिलैदेखि थाहा भएको विषय हो । रुप परिवर्तन गर्ने क्रममा सामान्य परिवर्तन र जटिल किसिमका परिवर्तन दुई वटामा कुन बढी परिवर्तन भएको हो भन्ने कुराले बढी महत्व राख्दछ । सामान्य परिवर्तन नियमित भइरहेको हुन्छ ,। त्यसले खासै प्रभाव पार्ने हुँदैन । अलि जटिल किसिमको परिवर्तन हुँदा त्यसको बनावटमा तलमाथि पर्छ र त्यसले संक्रमण हुने, लक्षण देखाउने, यावत कुराहरुमा फरक पार्न सक्ने हुन्छ । अहिले पछिल्लो समय नयाँ भेरियन्टको रुपमा परिवर्तन गरेपछि त्यसलाई धेरैले रुप परिवर्तन भएको भनेर हामीले भन्ने गरेका छन् ।

    त्यो परिवर्तित भेरियन्ट नयाँ रुपमा देखा परेको छ । त्यो भेरियन्ट यद्यपी नेपालमा आइसकेको छैन । त्यो भेरियन्ट नयाँ भेरियन्टहरु एक ठाउँबाट अर्को ठाउँमा बोकेर जाने हो । मानिस संक्रमित भएपछि अर्को ठाउँमा पुगेपछि अर्को व्यक्ति संक्रमित भएको आधारमा उहाँबाट फेरि अर्को व्यक्तिमा सरेर उहाँबाट फैलिने अवस्था हो । यो कुराहरुलाई मध्यनजर गरेर नेपाल सरकारले विदेश जाने÷आउने कुराहरु, स्वास्थ्यका मापदण्ड उल्लंघन हुने खालका गतिविधिहरुलाई कम गर्न अनुरोध गरेको हो ।

    संक्रमण रोकथाम नियन्त्रण गर्नलाई मानिसहरुको आवतजावतलाई व्यवस्थित गर्न, मानिसहरुको जनस्वास्थ्य मापदण्डका पालनाहरुको निरन्तरता राख्न, कोभिड १९ को खोप अभियानलाई निरन्तरता राख्न आवश्यक हुन्छ । यही सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर अत्यावश्यक काम भन्दा बाहेक घरभन्दा बाहिर ननिस्किन, अत्यावश्येक बाहेक विदेश जाने आउने काम नगर्न, नगराउनु हुन अनुरोध गरेको अवस्था हो ।

    त्यही माध्यमबाट संक्रमण आउने, जाने भएको हुनाले सरकारले अन्तर्राष्ट्रिय नाकाहरुमा निगरानीका कामहरु बढाएको छ । परीक्षणका कामहरुलाई बढाएको छ । सिक्वेन्सीका कामहरुलाई बढाएको छ । यसो गर्दा भेरियन्ट आइहाल्यो भने पनि चाँडै पत्ता लगाउन सजिलो हुन्छ । चाँडै पत्ता लाग्दा थप अरु सुरक्षा, सावधानी अपनाउन सहज हुन्छ । पुष्टि भएको भेरियन्टका सन्दर्भमा धेरै कुराहरु आएको छैनन् । जति तथ्य आएका छन् त्यसकै आधारमा हामीले लिएको जनस्वास्थ्यका मापदण्डहरु, हामीले लगाइरहेका कोभिड १९ का खोप अभियानहरु धेरै प्रभावकारी रहेको पाइएको छ ।

    हामीले निरन्तर खोप अभियानलाई सफलतातिर लैजानु पर्छ । धेरै भन्दा धेरै व्यक्तिहरु खोप अभियानमा सरिक हुनुपर्छ । ता कि समाज, सबै आफन्त सुरक्षित हुन सकियोस् । यो अवस्था सिर्जना गर्नलाई सरकारले निगरानी बढाउने, जनस्वास्थ्यका मापदण्डहरुको पालना बढाउने, कोभिड १९ को खोप अभियानलाई तीव्र गतिमा लिएर जाने कामहरु गरिरहेको छ ।’

    सह प्रवक्ता अधिकारीले सबै व्यक्तिहरु कोरोनाबिरुद्धको खोप अभियानमा सहभागि बन्नुपर्ने भन्दै यस कार्यलाई तीव्र गतिमा लिएर जानुपर्ने बताए ।

4565