• चैत तेस्रो साताबाट हुने पाँचौ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको विजेताले ३ लाख रुपैयाँ पाप्त गर्ने भएका छन् । नेपाल भलिबल संघले बिहीबार पत्रकार सम्मेलन गर्दै चैतमा आयोजना हुने लिगको महिला र पुरुष विजेताले ३ लाख पाउने बताएको हो । राष्ट्रिय बाणिज्य बैक सँगको सहकार्य पछि नयाँ संस्करणको प्रतियोगिताका लागि पुरस्कार राशिमा वृद्धि गरिएको छ । यस अघिको संस्करणका विजेताले २ लाख ५० हजार पाएका थिए । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले पत्रकार सम्मेलनमा जानकारी दियो ।

    यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउने छन् ।राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । मुख्य प्रायोजक बापत बैकले संघलाई १२ लाख उपलब्ध गराउने छ । प्रतियोगितामा पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

    लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, होङग्वान्जी न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद प्रतिस्पर्धा गर्ने छन् । यस्तै पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, बुद्धटोल भलिबल टिम, नयाँ बजार, मणिमुकुन्दले प्रतिस्पर्धा गर्ने छन् । लिगमा पुरुषतर्फ २८ र महिलातर्फ १५ गरि कुल ४३ खेल हुनेछ ।

    लिगको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस लिगबाट चीनमा आयोजना हुने एसियन च्याम्पियनसिपको लागि महिला टोलीको छनोट गरिनेछ । जसमा ३० खेलाडीहरु छनोट हुनेछन् । यस्तै प्रतियोगितामा सहभागी खेलाडी र अफिसियलको इन्स्यारेन्स गरिने संघले बताएको छ ।

4565