• इटहरी । नेपाली साहित्यका चर्चित साहित्यकार अच्छा राई रसिकको ७४औँ स्मृति दिवसका अवसरमा इटहरीमा बहुभाषिक साहित्य गोष्ठी आयोजना हुने भएको छ । अच्छा राई रसिक साहित्य प्रतिष्ठान इटहरीले विहिबार चिया गल्लीमा पत्रकार सम्मेलन गर्दै आगामी २०८३ साउन ३० गते शनिबार विश्व आदर्श कलेजको सभाहलमा कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको हो।
    प्रतिष्ठानका सचिव जीवनकुमार राईका अनुसार गोष्ठीमा विभिन्न मातृभाषाका गीत, गजल तथा कविता प्रस्तुत गरिनेछ। कार्यक्रममा विभिन्न भाषाभाषी स्रष्टा, साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहनेछ ।
    नेपाली साहित्यमा छोटो समयमै प्रभावशाली योगदान पुर्याएका अच्छा राई रसिकको जन्म सन् १९२८ अक्टोबर ११ मा भारतको दार्जिलिङस्थित धोबी तलाउमा भएको र दार्जिलिङको भिक्टोरिया अस्पतालमा निधन भएको थियो। २४ वर्षको जीवनकालमै उनले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएको स्मरण गराउदै रसिकका ‘लगन’ र ‘दोभान’ दुई पूर्ण आकारका उपन्याससहित डेढ दर्जन निबन्ध, आधा दर्जन कथा तथा विभिन्न कविता प्रकाशित छन्।
    अच्छा राई रसिक साहित्य प्रतिष्ठान वि.सं. २०५२ सालमा अग्रज साहित्यकार जी.बी. लुगुन, वीरेश राई, धरणीधर दाहाल, पीताम्बर भोला लम्साल, लेखनाथ घिमिरेल गायतको पहलमा स्थापना भएको थियो ।
    प्रतिष्ठानका अध्यक्ष केशवकुमार सुनामले विदेशी भाषा तथा संस्कृतिको प्रभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै बहुभाषिक साहित्य गोष्ठीले मातृभाषा, नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
    पत्रकार सम्मेलनमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष लेखनाथ घिमिरे, उपाध्यक्ष कृष्ण अधिकारी, साहित्यकार कृष्ण विनोद लम्साल, सदस्य जगदिश सापकोटा तथा इटहरी साहित्यिक समूहका संस्थापक सचिव लक्ष्मण निरौलालगायतको सहभागिता थियो।

4565