• इटहरी । सुनसरीको इटहरी–१३, खनार औद्योगिक क्षेत्रमा कारोबार कार्यालय रहेको विराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्कासन गर्ने तयारी अघि बढाएको छ। यसका लागि कम्पनी र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ।
    सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले विराट एग्रीलाई आईपीओ निष्कासनको चरणसम्म आवश्यक संस्थागत परामर्श तथा अन्य सेवा उपलब्ध गराउनेछ।
    कृषि तथा एक्वाकल्चर क्षेत्रलाई व्यावसायिक, आधुनिक र दिगो ढाँचामा विकास गर्ने उद्देश्यसहित स्थापित विराट एग्रीले मोरङ र सुनसरीमा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको छ।
    कम्पनीले इटहरी–१३ स्थित खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्ट सञ्चालन गरी विभिन्न प्रकारका तैरिने तथा डुब्ने माछाका दाना उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ।
    विराट एग्री लिमिटेडका सञ्चालक दिपक पोख्रेलले कम्पनीले कृषि तथा मत्स्यपालन क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउँदै उत्पादनदेखि प्रशोधन तथा बजारीकरणसम्मका गतिविधिलाई एकीकृत रूपमा अघि बढाइरहेको जानकारी दिए। उनले प्रस्तावित आईपीओ निष्कासनबाट प्राप्त पूँजीलाई उत्पादन क्षमता विस्तार, आधुनिक प्रविधिको प्रयोग तथा नयाँ पूर्वाधार विकासमा परिचालन गर्ने योजना रहेको बताए।
    कम्पनीले पाङ्गास माछाको फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट स्थापना गर्ने तयारी गरेको छ। आधुनिक प्रविधिमार्फत माछा प्रशोधन गरी फिलेट तथा अन्य मूल्य अभिवृद्धि भएका उत्पादनको उत्पादन, प्याकेजिङ र बजारीकरण गर्ने लक्ष्य कम्पनीको छ।
    त्यस्तै, माछा तथा पशुपंक्षीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक फिड प्लान्ट स्थापना गर्ने योजना पनि अघि सारिएको छ।
    कम्पनीका अनुसार उत्पादन, प्रशोधन, प्याकेजिङ, कोल्ड स्टोरेज र बजारीकरणलाई एउटै व्यावसायिक चक्रमा जोड्दै कृषि तथा एक्वाकल्चर क्षेत्रमा मूल्य अभिवृद्धि, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

4565