• कोरोना महामारीको जोखिमलाई मद्देनजर गर्दे सरकारले देशैभरका शैक्षिक संस्था बन्द गरेको छ । सरकार कै निर्देशन अनुसार अधिकाँश विद्यालयले वैकल्पिक माध्यम विशेष गरी अनलाइनबाट अध्यापन गरिरहेका छन । तर, हचुवाको भरमा भइरहेको अनलाईन कक्षाले विद्यार्थीहरुमा सिकाईभन्दा पनि विविध समस्याहरु ल्याउन थालेको छ ।

    काठमाडौको स्वयम्भु बस्ने सबिना बुद्धाचार्य आफनो छोरा र छोरीको व्यवहार देखेर चिन्तित बन्दै गएकी छन । कक्षा २ मा अध्ययनरत छोरा र छोरी दुवै जना जहिले पनि झोक्किएर बोल्छन । दिक्क लाग्यो भनिरहेका हुन्छन । लगातारको अनलाइन कक्षा र बाहिर पनि जान सक्ने अवस्था नरहेको बालबालिकाको व्यवहार नै परिवर्तन भएको छ ।

    यस्तो परिवर्तन सविनाका छोरा र छोरीमा मात्र देखिएको छैन । अहिले वैकल्पिक अझ विशेष गरी अनलाइन माध्यमबाट अध्ययन गरिरहेका अधिकाँश विद्यार्थीमा यो समस्या देखिएको छ । शहरी क्षेत्रका विद्यालयहरुले अनलाइन मार्फत अध्यापन गराइरहेका छन । कुन उमेरका विद्यार्थीलाई कति समयसम्म अनलाइन मार्फत अध्यापन गराउने भन्दा पनि उनीहरु हचुवाको भरमा यस्तो कक्षा संचालन गर्दै आएका छन । कतिपय विद्यालयले त बिहान १० बजे देखि चार बजेसम्म कक्षा संचालन गरेका छन । जसका कारण विद्यार्थीहरुमा एकहोरोपन, चिडचिडाहट, टाउको दुख्ने, ढाड दुख्ने जस्ता समस्या देखिन थालेको छ । विशेषज्ञहरुले बालबालिकालाई यो समस्याबाट जोगाउन उनीहरुको दैनिकीमा परिवर्तन ल्याउन सुझाव दिन्छन ।

    सामान्यतया बालबालिका यो उमेरमा हाँस्न, खेल्न, अनि डुल्न मन पराउँछन् । तर महामारीका कारण बहिर निस्कने अवस्था छैन । त्यसैले बालबालिकालाई समय मै उठ्ने, ध्यान योगाभ्यासका साथै उसको रुचीको क्रियाकलाप गर्न परिवारले पे्ररीत गर्नु पर्ने विशेषज्ञहरुको भनाई छ ।

    समय र परिस्थीति जस्तोसुकै भएपनि बालबालिका भविष्यका कर्णधार हुन् । स्वास्थ्यभन्दा महत्वपुर्ण अरु केही हुन सक्दैन । त्यसैले अभिभावकहरुले आफ्नो बच्चामा आईरहेको परिवर्तनलाई गम्भिरताका साथ लिई उनीहरुलाई सहज ढंगबाट सिकाईका लागि अभिप्रेरित गर्नु पर्ने देखिन्छ ।

4565