• सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री केपी ओलीलाई भेटेको समाचार प्रकाशन गर्ने अनलाइनका सम्पादकहरुलाई अदालतमा बोलाएर स्पष्टीकरण सोधेको छ । नेपाल समयका प्रधानसम्पादक नारायण अमृत र इमेज खबरका सम्पादक राजन कुइँकेललाई सर्वोच्च अदालत प्रशासनले अदालत बोलाएर स्पष्टिकरण सोधेको हो ।

    उनीहरू नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित सर्वोच्च पुगेका थिए । प्रकाशित समाचारको विषयमा नियमन गर्ने निकाय प्रेस काउन्सिल हो । तर कानुनको व्याख्याता सर्वोच्चले सिधै सम्पादकहरूलाई बोलाएर स्पष्टिकरण सोधेको हो । नेपाल समय अनलाइनका सम्पादक नारायण अमृतले सर्वोच्च प्रशासनले समाचार प्रकाशन भएको माफी माग्न भनेपछि आफुहरु पत्रकारिताबारे नियमन गर्ने निकाय प्रेस काउन्सिल भएकाले उतैबाट कुराकानी गरौँ भनेर हामी निस्किएको बताए । सम्पादकद्धयसंग छलफलमा पुगेका नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले समाचारको विषयलाई लिएर सर्वोच्चले पत्रकारलाई बोलाउनु गलत भएपनि अदालतप्रतिको सम्मानका खातिर आफूहरू गएको बताए ।

    सर्वोच्चमा संसद विघटनसम्बन्धी मुद्दा दर्ता भएपछि प्रधानन्यायाधीश जबरा र प्रधानमन्त्री ओलीबीच गोप्य भेटघाट भएको भन्दै दुवै अनलाइनमा समाचार प्रकाशित भएको थियो । सर्वोच्चले स्वतन्त्र न्यायापालिकाको मर्यादा र गरिमामा आँच आउने भ्रामक समाचार छाप्नेलाई कानुनी कारबाही गरिने चेतावनीसहितको खण्डन विज्ञप्ति जारी गरेको थियो ।

4565