• इटहरी । विद्यालयस्तरमै फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको ग्रासरुट फुटबल क्याम्प इटहरीमा २४३ औं हप्तामा पुगेर सम्पन्न भएको छ।
    अखिल नेपाल फुटबल संघ एन्फाले ६ वर्ष अघि सुरु गरेको यस कार्यक्रमलाई पछिल्लो तीन वर्षयता इटहरीका तीन स्थानीय क्लबहरु राष्ट्रिय जागृति क्लब, इटहरी फुटबल क्लब र द ब्वाइज क्लबले निरन्तरता दिँदै आएका थिए।

    एन्फाको आर्थिक सहयोग रोकिनुका बाबजुद इटहरी उपमहानगरपालिका ६ को वडाको सहयोगमा कार्यक्रम सञ्चालन हुँदै आएको थियो। तर चालु आर्थिक वर्षको बजेट समाप्त भएसँगै र वर्षातको कारणले गर्दा बिहीबारदेखि कार्यक्रम अस्थायी रुपमा स्थगित गरिएको वडा अध्यक्ष दिवस पोखरेलले जानकारी दिए। उनले आगामी आर्थिक वर्षमा बजेट सुनिश्चित भएसँगै पुनः कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रम संयोजक तथा एन्फा कोशी प्रदेशका सहमहासचिव केशव कार्कीका अनुसार फुटबलप्रतिको उत्साह र लगाव देखेपछि स्थानीय क्लबहरूले आफ्नै स्रोत र साधनबाट कार्यक्रमलाई निरन्तरता दिँदै आएका हुन्। उनले भने, “बालबालिकामा भएको सम्भावना देखेर हामीले उमेर समूहको प्रतियोगिता र प्रशिक्षणलाई प्राथमिकता दिएका छौं।

    २४३ हप्तासम्म सञ्चालन भएको क्याम्पमा सुनसरी र मोरङ जिल्लाका ग्रामीण क्षेत्रसहित ३ सयभन्दा बढी बालबालिकाको सक्रिय सहभागिता रहँदै आएको थियो। कार्यक्रम हरेक शनिवार विद्यालय बिदाको दिनमा आयोजना हुने गथ्र्यो।

    बालबालिकालाई फुटबलका आधारभूत सीप सिकाउने जिम्मा राष्ट्रियस्तरका दक्ष प्रशिक्षकहरूलाई दिइएको थियो।
     प्रशिक्षक टोलीमा राष्ट्रिय महिला फुटबल टिमका पूर्व सहायक प्रशिक्षक श्याम मानन्धरको नेतृत्वमा एन्फा प्रशिक्षक राजकुमार श्रेष्ठ, अभिषेक कालिकोटे, सन्दीप कोइराला लगायतको सक्रिय संलग्नता रहेको कार्यक्रम संयोजक कार्कीले जानकारी दिए।

    राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार, “स्थानीय तह र सामुदायिक सहयोगका कारण यस्तो कार्यक्रमले धेरै प्रतिभाशाली खेलाडी उत्पादन गर्न सफल भएको थियो ।
     उनले ग्रासरुट स्तरका कार्यक्रमलाई निरन्तरता दिन स्थानीय सरकार र संघसंस्थाको समन्वय अपरिहार्य रहेको अध्यक्ष डुम्जनले बताए।
     नेपाली फुटबलको भविष्य उज्यालो बनाउन अब यो पहललाई अझ व्यापक र सशक्त बनाउन स्थानीय तहको दीर्घकालीन योजना र सरकारी प्राथमिकता अत्यावश्यक देखिएको छ।

4565