• इटहरी । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी, नेपाल अन्तर्गत जोन–१६ को संयोजनमा इटहरी–४ स्थित निःसहाय बालबालिका सेवा आश्रम मा एक छाक भोजन गराइ तथा आश्रमको नवनिर्मित भवन निर्माणका लागि एक लाख दुई रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको छ । मानव सेवा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा दिवंगत व्यक्तिहरूको स्मृतिलाई सेवामूलक कार्यमार्फत सहयोग गरिएको होे ।
    कार्यक्रममा स्वर्गीय रणबहादुर कार्की तथा स्वर्गीय निरमाया कार्कीको स्मृतिमा परिवारका पवित्रा दाहालको तर्फबाट रु ५० हजार १ तथा स्वर्गीय पशुपतिनाथ ढकालको स्मृतिमा ढकाल परिवारका तर्फबाट रु ५० हजार १ बराबरको चेक आश्रम भवन निर्माण समितिलाई हस्तान्तरण गरिएको थियो । उक्त सहयोगले आश्रमको नवनिर्मित भवन निर्माण कार्यलाई थप गति पुग्ने विश्वास व्यक्त गरिएको छ।
    कार्यक्रम जोन चेयरपर्सन रञ्जना शर्माको अध्यक्षता तथा फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर रमेश खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सो अवसरमा आश्रममा आश्रित बालबालिकालाई एक छाक भोजन समेत गराइएको थियो ।

    अध्यक्ष गर्दै रञ्जना शर्माले समाजका असहाय र अभिभावकविहीन बालबालिकाको सुरक्षित भविष्यका लागि भवन निर्माण अत्यन्त आवश्यक रहेकाले सहयोग अभियानलाई निरन्तर अघि बढाइएको बताइन्। सामाजिक संघ–संस्थाको सहकार्यले यस्ता मानवीय अभियानलाई थप प्रभावकारी बनाउने उनको भनाइ थियो।
    प्रमुख अतिथि रमेश खत्रीले लायन्स अभियानको मूल मर्म नै सेवा रहेको उल्लेख गर्दै भवन निर्माणमा गरिएको सहयोगले आश्रमका बालबालिकाको जीवनस्तर सुधारमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले समाजका सक्षम व्यक्ति र संस्थालाई यस्ता सेवामूलक अभियानमा जोडिन आग्रहसमेत गरे।

    भवन निर्माण समितिका अध्यक्ष राजेश श्रेष्ठले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै समुदायको साथ र सहयोगकै बलमा आश्रमको भवन निर्माण कार्य सम्पन्न गर्ने जनाए।
    लायन्स,लियो क्लब अफ इटहरी स्मार्ट सिटी, इटहरी सिटिजन, इटहरी सुपर सिटी तथा इटहरी सुन्दर सिटीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा भाइस डिस्ट्रिक्ट गभर्नर उपकारमणि बराल, प्रोटोकल चीफ थानेश्वर ढकाल, आश्रमकी संस्थापक गीता गौतम, आश्रमका अध्यक्ष राजेन्द्र श्रेष्ठ, भवन निर्माण समितिकी सचिव बालिका खड्का भट्टराई, राजेन्द्र केशरी घिमिरे लगायत विभिन्न लायन्स क्लबका पदाधिकारी, समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

4565