• नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक बर्षको बजेट कोरोना महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेको छ । कोरोना संक्रमणको पहिलो लहरबाट नराम्रोसंग थला परेको अर्थतन्त्र पुरानै लयमा फर्कन नपाउँदै दोश्रो लहरको चपेटामा परेको भन्दै महासंघले बजारलाई चलायमान बनाउने गरि वजेटमा विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले संचारकर्मीसंग कुरा गर्दै कोरोनाले अर्थतन्त्र फेरि ठप्प रहेको भन्दै बजेटले बजार चलायमान बनाउने गरि अर्थतन्त्रका मुद्दाहरुको सम्बोधन गर्नुपर्ने बताए ।

    महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आगामी बजेटले कोरोना महामारीबाट नागरिकलाई बचाउनका लागि खोप र स्वास्थ्य पुर्वाधारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले साना तथा मझौला व्यवसाय र कच्चा पदार्थमा आधारित उद्योगलाई पनि प्राथमिकता दिई समग्र ७० प्रतिशत राजश्वमा योगदान पुर्याउने नीजि क्षेत्रलाई पुरानै लयमा फर्काउने गरि बजेट आउनुपर्ने माग गरे ।

    महासंघले निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि विशेष योजना ल्याउनुपर्ने र वास्तविक किसान पहिचान गरी उत्पादन वृद्धि र रोजगारमुखी फार्मको अवधारणलाई प्राथमिकता दिनुपर्ने माग गरेको छ । गतबर्ष सरकार र नेपाल राष्ट्रबैकबाट व्यवसायीक क्रियाकलापलाई सपोर्ट गर्ने केही कार्यक्रम ल्याएपनि सरकारको बजेट र मौद्रिक नीतिका कारण केही जटिलताहरु देखिएको भन्दै आगामी बजेटमा सहजीकरण गर्न सुझाव महासंघको छ ।

4565