• बिहीवार शेयर बजारमा नेप्से परिसूचक २५ दशमलव ८२ अंकले वृद्धि भएको छ । काठमाडौँको उपत्यका निषेधाज्ञा जारी भएको पहिलो दिन बजार १ प्रतिशतले वृद्धि भएको हो ।

    आज ८ लाख १८ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३५ करोड ७० लाख १९ हजारभन्दा बढीको कारोबार भएको छ । आज होटल तथा पर्यटन र लगानी समूह बाहेक सबै समूहमा वृद्धि छ । सबैभन्दा बढी जीवन बीमा कम्पनीको शेयर १ सय ४२ अंकले बढेको छ । त्यस्तै व्यापार समूह १ सय २६ दशमलव ५४, उत्पादन समूह १ सय ३ दशमलव ६८ अङ्कले उकालो लागेको छ ।

    आज सिंगटी हाइड्रो, महिला लघुवित्त र विशालबजार कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, सान्जेन जलविद्युत कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन पावर पार्टनरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ ।

    सबैभन्दा बढी एनसीसी बैंकको ३० करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यसैबीच कोरोना संक्रमण रोक्नका लागि निषेधाज्ञा जारी भएसंगै सेयर बजार अनलाइनबाट मात्र कारोबार हुने भएको छ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको अवधिभर विद्युतीय माध्यमबाट मात्र सेयर कारोबार हुने जनाएको हो ।

4565