• नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विकास प्राधिकरण बनाएर मकवानपुर, चितवन र नवलपुर जिल्लाको विकास एकैसाथ गर्नुपर्ने बताएका छन् । सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण हुन लागेको भरतपुर मेट्रो प्लाजाको शिलान्यास गर्दै उनले चितवन, मकवानपुर र नवलपुरको एकसाथ विकास गर्ने गरी वृहत्तर परियोजना बनाउनुपर्ने बताएका हुन् । अध्यक्ष दाहालले विगतको सरकारले चितवनको विकास आयोजना सुरु गर्न खोज्दा निषेध गरेको आरोप समेत लगाए ।

    अध्यक्ष दाहालले राजनीतिक स्थायीत्व र विकासका निम्ति गठबन्धन र एकताको पहल गरेपनि ओली नेतृत्वको सरकार आफुप्रति निरन्तर पूर्वाग्रही बनेको बताए । उनले भरतपुर महानगरपालिकालाई स्मार्ट सिटीको सूचिबाट हटाइएकोमा समेत असन्तुष्टी जनाए ।

    शिलन्यास गरिएको मेट्रो प्लाजाको निर्माण ३ वर्षमा पुरा गर्ने लक्ष्य राखिएको छ । प्लाजा निर्माणमा निजी क्षेत्रले करिब २ अर्ब लगानी गर्नेछन् । प्लाजा सञ्चालनको जिम्मा पनि निजी क्षेत्रले पाउने छ । जसवाफत महानगरले ८२ करोड बराबरको राजश्व पाउने छ । महानगरको साढे ११ कठ्ठा जग्गामा आर्य बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालिले संरचना निर्माण सुरु गर्नेछ । मेट्रो प्लाजामा ३ वटा बेसमेण्ट पार्किङ सहितको १४ तले सुविधासम्पन्न भवन बन्नेछ । चिल्ड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट लगायतका संरचनाहरु बन्नेछन् ।।

4565