• नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अझै पनि तोकिएको समयमा महाधिवेशन हुनेमा आशंका व्यक्त गरेका छन् । पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्नामा ऐक्यवद्धता जनाउन पुगेका पौडेलले भदौ १८ गते वडा अधिवेशन शुरु गर्ने गरी ल्याइएको नयाँ कार्यतालिका कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे । वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवाले महाधिवेशन हुन्छ, हुन्छ भने पनि पार्टीका संयन्त्रबाट क्रियाशील सदस्यताको टुंगो लगाउन ढिलाइ भएको बताए ।

    पौडेल पक्षले पार्टीको क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्नुपर्ने माग गर्दै आएको छ । पौडेलले क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याएको सदस्यता विवरण सबैले हेर्न मिल्ने बनाउनुपर्ने बताए ।

    क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्न र विधानसंग बाझिने गरि जारी भएको निर्वाचन निर्देशिका खारेजीको माग गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनसन सुरु गरेका हुन् । पार्टी केन्द्रीय कार्यालयमा नुवाकोटका सभापति जगदीशनरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य, धादिङका सभापति रमेश धमलाले रिले अनशन सुरु गरेका हुन् । अनसन बसिरहेका नेता र कार्यकर्ताहरुका मागमा ऐक्यबद्धता जनाउन महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, दिलेन्द्र बडु, अर्जुननरसिंह केसी, गगन थापा, डा. शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्तलगायतका नेताहरु सानेपा पुगेका थिए ।

4565