• नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित उच्च स्तरिय समितिले थप समय माग गरेको छ । भदौ २ गतेसम्मको समयसीमा पाएको पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा। मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले समय सकिएको दुई दिनपछि थप समय मागेको हो । योसंगै कांग्रेसको भदौ १८ का लागि तोकिएको वडा अधिवेशन नहुने निश्चित भएको छ ।

    सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर कृष्ण सिटौला सम्मिलित उच्च स्तरिय समितिले क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन अझै समय लाग्ने जनाएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको बाँकी काम भदौ २ भित्र सहमति गरेर भदौ ३ मा केन्द्रीय सभापतिलाई बुझाउन म्याण्डेट दिएको थियो । म्याण्डेट सकिएको २ दिनपछि समितिले थप समय मागेको हो ।

    यो संगै कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गते सम्मका लागि तोकिएको कार्यतालिका प्रभावित हुने देखिएको छ । तय भएको कार्यतालिका मध्ये भदौ १८ का लागि तय भएको वडा तहको अधिवेशन नहुने निश्चिित भएको छ । कांग्रेसको महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले क्रियाशील सदस्यताको विवरण पाएको १९ दिनपछि मात्र वडा अधिवेशन गराउने जानकारी केन्द्रीय समितिलाई गराइसकेको छ । तर अब वडा अधिवेशनको मिति भदौ १८ गते आउन १३ दिन मात्र बाँकी छ । क्रियाशील सदस्यता टुंगो लगाउन गठन भएको उच्चस्तरिय समितिले अझै केहि दिन समय लाग्ने बताएको छ ।

    क्रियाशील सदस्यता छानबिन समितिले सिन्धुपाल्चोक, रसुवा, धनुषा–४, सर्लाही–२ लगायत ठाउँहरुको विवाद समाधानका लागि शीर्ष नेताहरुलाई बुझाएको थियो । तर, नेताहरुले सहमति जुटाउन नसकेपछि सिटौलाको नेतृत्वमा अर्को समिति बनाएका थिए । सो समितिले पनि काम तोकिएको समयमा गर्न सकेन् ।

    अझछानबिन समितिले विवाद समाधान गर्न नसकेर स्थगित गरेका १ सय ७० वडाको सदस्यताका विषयमा उच्चस्तरिय समिति प्रवेश नै गरेको छैन् । कांग्रेसको महाधिवेशनको मुल आधार नै क्रियाशील सदस्यता हो । क्रियाशील सदस्यहरुले वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । ती नै क्षेत्रीय प्रतिनिधिले नै पालिका, प्रदेश र जिल्लाको नेतृत्वमात्रै होइन, केन्द्रीय कार्यसमिति चयनमा मतदान गर्ने केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत चयन गर्छन् ।

4565