• कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी ते¥ह वर्षीया बालिका निर्मला पन्तको हत्या भएको तीन वर्ष पूरा भएको छ । निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । हत्याको दुई वर्षमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान टोली गठन भए तर प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन नसक्दा पीडित परिवारलाई भने न्याय पाउने आश मरेको छ ।

    राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमै चर्चाको विषय बनेको निर्मला प्रकरणमा तीन वर्षको अवधिमा प्रहरीले उपलब्धि हात पार्न सकेको छैन । प्रहरीले अहिलेसम्म घटनाको कुनै निचोडमा नपुगेको तर अनुसन्धान भइरहेको जनाएको छ । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन प्रहरी नायब महानिरिक्षक धिरु बस्न्यातको नेतृत्वले छुट्टाछुट्टै प्रतिवेदन तयार गरेको भएपनि कार्यान्वयनमा आउन सकेका छैनन ।

    अनुसन्धानमा खटिएका छ अधिकृत फेरिएपनि घटनामा सग्लनको पहिचान अझै हुन सकेको छैन । पन्तको बलात्कार र हत्या मुद्दामा जोडिएका आठ जना प्रहरीले भने सफाइ पाइसकेका छन । यातना दिएको अभियोग लागेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, सीआईबीका प्रहरी नायब उपरिक्षक अंगुर जिसी तथा एकिन्द्र खड्का र ज्ञानबहादुर सेठीले सफाइ पाएका हुन् । त्यस्तै प्रहरीहरू चाँदनी साउद, जगदीशप्रसाद भट्ट, रामसिंह धामी र हरिसिंह धामीले पनि सार्वजनिक न्यायविरुद्धको कसूर गरेको अभियोगबाट सफाइ पाएका हुन ।

4565