• इटहरी । तीन दशकभन्दा लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको इटहरी–७ स्थित सेक्रेड हार्ट माध्यमिक विद्यालयले अब स्नातक तहमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीबीए कक्षा सञ्चालन गर्ने भएको छ। विद्यार्थीलाई उच्च शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्ने उद्देश्य सहित कलेजले बीबीए कार्यक्रम सुरु गरेको जानकारी दिएको हो।

    कलेजले शुक्रबार आफ्नै सभाहलमा पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ शैक्षिक कार्यक्रमबारे जानकारी गराएको हो। कलेजका अनुसार डिजिटल बोर्डमार्फत अध्यापन, एसी कक्षा कोठा, स्वच्छ तथा शान्त शैक्षिक वातावरण र आधुनिक शिक्षण विधिमार्फत विद्यार्थीलाई गुणस्तरीय तथा व्यावहारिक शिक्षा प्रदान गरिनेछ।

    पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष जीवप्रसाद गुरागाईंले इटहरीको बढ्दो जनसंख्या र उच्च शिक्षाप्रति विद्यार्थीको आकर्षणलाई मध्यनजर गर्दै बीबीए कार्यक्रम सञ्चालनमा ल्याइएको बताए। उनले विद्यार्थीले व्यवस्थापन विषय अध्ययनका लागि अन्य शहर धाउनुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गर्न लागिएको उल्लेख गरे। विगत ३१ वर्षदेखि अभिभावक, विद्यार्थी तथा समुदायबाट प्राप्त विश्वास र सहयोगकै कारण कलेजले निरन्तर शैक्षिक सेवा विस्तार गर्दै आएको उनको भनाइ थियो।

    विद्यालयका कार्यक्रम संयोजक केवलमणि रिजालले सेक्रेड हार्ट स्कुलमा हाल पीजीदेखि कक्षा १२ सम्म ८५० बढी विद्यार्थीहरु अध्ययन–अध्यापन भइरहेको जानकारी दिँदै यसै शैक्षिक वर्षदेखि बीबीए कार्यक्रम थपिएको बताए। व्यवसाय तथा व्यवस्थापन क्षेत्रमा आवश्यक पर्ने व्यावहारिक ज्ञान, नेतृत्व क्षमता, प्रस्तुतीकरण सीप र आधुनिक प्रविधिमा आधारित सिकाइलाई विशेष प्राथमिकता दिइने उनले बताए। व्यवसाय तथा व्यवस्थापन क्षेत्रमा आवश्यक पर्ने व्यावहारिक ज्ञान, नेतृत्व क्षमता, प्रस्तुतीकरण सीप र आधुनिक प्रविधिमा आधारित सिकाइलाई विशेष प्राथमिकता दिइने उनले बताए।

    त्यसैगरी कलेजका प्रिन्सिपल डिककुमार तामाङले अनुभवी प्राध्यापक, अनुशासित शैक्षिक वातावरण, आधुनिक पूर्वाधार र विद्यार्थीमैत्री शिक्षण प्रणालीमार्फत दक्ष, प्रतिस्पर्धी र रोजगारमुखी जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताए। उनले सेक्रेड हार्ट कलेजले आगामी दिनमा पनि समयअनुकूल गुणस्तरीय शिक्षा प्रदान गर्दै शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

4565