• इटहरी । उद्योगी–व्यवसायीहरूको साझा संस्था उद्योग वाणिज्य संघ, इटहरीको असार २७ गते हुने निर्वाचनको माहोल दिनप्रतिदिन तातिँदै गएको छ। अध्यक्षसहित विभिन्न पदका उम्मेदवारहरूले घरदैलो, भेटघाट र चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै मतदातामाझ पुगिरहेका छन्।

    यसैक्रममा वाणिज्य सदस्य पदका उम्मेदवार सिनेट रिजाल चुनावी मैदानमा सक्रिय देखिएका छन्। युवा व्यवसायीका रूपमा परिचित रिजालले व्यवसायमैत्री वातावरण निर्माण, संघको सेवा प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप प्रभावकारी बनाउने र उद्योगी–व्यवसायीबीच एकता तथा सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    रिजाल एस.डी. मोटर्स, एस.डी. फुटसल तथा ट्रफ बैंक्वेट एन्ड रेष्टुरेन्टलगायत विभिन्न व्यवसायमा संलग्न छन्। व्यावसायिक अनुभवलाई संघको संस्थागत विकासमा उपयोग गर्ने लक्ष्यसहित आफू उम्मेदवार बनेको उनको भनाइ छ।

    उनले संघलाई समयअनुकूल, प्रविधिमैत्री र पारदर्शी संस्था बनाउन डिजिटल सीसीआई अवधारणालाई प्राथमिकतामा राख्ने बताएका छन्। साथै व्यवसाय विस्तारका अवसर सिर्जना, सदस्यलाई सहज सेवा प्रवाह र उद्योगी–व्यवसायीबीच आपसी सहकार्य अभिवृद्धि आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गरेका छन्।

    घरदैलो तथा भेटघाटका क्रममा व्यवसायीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गर्दै रिजालले आफूलाई अत्यधिक मतका साथ विजयी गराई उद्योग वाणिज्य संघलाई अझ सक्षम र प्रभावकारी बनाउन सहयोग गर्न आग्रह गरेका छन्।

    निर्वाचन नजिकिँदै जाँदा इटहरीका व्यवसायीहरूबीच चुनावी चहलपहल बढेको छ भने उम्मेदवारहरूले आफ्ना योजना र प्रतिबद्धतामार्फत मतदाताको विश्वास जित्ने प्रयासलाई तीव्र बनाएका छन्।

4565