नेकपा माओवादी केन्द्र खारेजीको माग गरेका एमाले प्रबेश गरेका पूर्वमाओवादी नेताहरुले आफूहरूको माग छिटो सम्बोधन गर्न आग्रह गरेका छन् । शुक्रबार पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग पुगेर खारेजीको निवेदनमा छिटो निर्णय गर्न माग गरेका हुन् । माओवादी पार्टी मनपरी ढंगले चलेको आरोप लगाउदै छिटो आयोगले खारेज गर्नुपर्ने नेता टोपबहादुर रायमाझीले बताए । उनले तोकिएको समयमा महाधिवशेन नगरेकाले माओवादी केन्द्र अवैधानिक भएको र आफुहरुलाई कारवाही गर्नु असंवैधानिक रहेको जिकिर गरे ।
माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको लागि पूर्वमाओवादी नेताहरुले बुधवार आयोगमा निवेदन दिएका थिए । निवेदनमा २०७१ देखि माओवादी केन्द्रको महाधिवेशन नभएको दावी गरिएको छ । दल दर्ता खारेजीको माग गर्दै परेको निवेदन उपर आयोगले थालेको प्रक्रियाका बारेमाा जानकारी लिन रायमाझी, मणि थापा, प्रभु साह लगायतका नेताहरु आयोग पुगेका थिए ।
यसैबीच, नेकपा माओवादी केन्द्रले दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदनलाई हास्यास्पद भनेको छ । माओबादी केन्द्रले बिज्ञप्ती जारी गर्दै पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्तिले दिएको निवेदन र दल दर्ता तथा खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएका व्यक्तिहरुको कार्य हास्यास्पद रहेको बताएको छ । केन्द्रले यो कदमलाई कुनियतको संज्ञासमेत दिएको छ । केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन खोजेको बिज्ञप्तिमा आरोप लगाईएको छ ।