• १६औँ संस्करणको युरोकप फुटबलमा आज समूह चरणका अन्तिम खेलहरु हुँदैछ । आज समूह ‘ई’ र समूह ‘एफ’ को २–२ खेल हुन लागेको हो । समूह ‘ई’ मा रहेको स्पेन र स्लोभाकिया तथा स्विडेन र पोल्याण्डबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । स्पेनलाई नकआउट चरणमा प्रवेश गर्नका लागि आजको खेल जित्नैपर्ने हुन्छ ।

    स्पेन २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । स्लोभाकिया २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । यसै समूहबाट नकआउट चरणमा पुगिसकेको स्वीडेन पनि पोल्याण्डलाई हराउँदै समूह विजेता बन्न चाहन्छ ।

    पोल्याण्ड पनि स्वीडेनलाई हराएर नकआउट चरणमा पुग्ने योजनामा रहेको छ । दुई खेलबाट १ अंक जोडेको पोल्याण्ड समूहको पुछारमा रहेको छ । आजै मध्यराति हुने अन्य खेलमा समूह ‘एफ’ मा रहेका पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरी भिड्नेछन् । दुवै खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पोर्चुगल २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

    फ्रान्स पनि पोर्चुगललाई हराउँदै समूह विजेता बन्न चाहन्छ । फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । समूहको शीर्ष स्थानाम रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । जर्मनी पनि हंगेरीलाई हराएर अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ । २ खेलमा ३ अंक जोडेको जर्मनी समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरी पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । दुई खेलमा १ अंक जोडेको हंगेरी समूहको पुछारमा रहेको छ । हंगेरीले जितेको खण्डमा पनि अन्य खेलको नतिजाले नकआउट चरणको यात्रा तय गर्ने नगर्ने निश्चित हुनेछ ।

4565