• १६औं संस्करणको युरोकप फुटबलमा शनिबार पनि तीन खेल

    १६औं संस्करणको युरोकप फुटबलमा आज पनि तीन खेल हुँदैछ । समूह चरण अन्तर्गत पहिलो खेलमा अहिले फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो खेलमा जर्मनीलाई १–० ले हराएको फ्रान्स आज लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा पोर्चुगलसँग ३–० ले पराजित भएको हंगेरी पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

    फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ भने हंगेरी समूहको पुछारमा रहेको छ । त्यसैगरी अर्को खेलमा समूह एफमै रहेका साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टोलीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ । पहिलो खेलमा हंगेरीलाई हराएको पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित भएको जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ ।

    नकआउट चरणको सम्भावना कायम राख्न जर्मनीलाई आजको खेल जित्नैपर्ने हुन्छ । आजै हुने तेस्रो खेलमा समूह इमा रहेका स्पेन र पोल्याण्ड भिड्नेछन् । दुई टोलीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको स्पेन आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्लोभाकियासँग २–१ ले पराजित भएको पोल्याण्ड पहिलो जितको खोजिमा हुनेछ । पोल्याण्ड समूहको पुछारमा रहेको छ ।

4565