• बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) आवद्ध मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुले कोरोना महामारीका विरुद्ध सबै सदस्य मुलुक एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

    बिमस्टेकले आइतबार २४ औं स्थापना दिवस मनाउँदै छ । सोही अवसरमा सदस्य मुलकका राष्ट्र तथा सरकार प्रमुखहरुले शुभकामना सन्देश दिदै महामारीका विरुद्ध एकजुट भएर लड्ने प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीविरुद्ध सबै सदस्य मुलुक एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

    उनले खोप नै अहिलेको महामारी समाधानको प्रमुख प्राथमिकता रहेको बताउँदै समयमै खोप लगाउन र सुनिश्चित गर्नका लागि बिमस्टेक क्षेत्रले थप प्रयत्न गर्नु जरुरी रहेको बताए । यसैबीच, भारतीय प्रधानमन्त्री मोदीले पनि बिमस्टेक दिवसको अवसरमा सन्देश जारी गर्दै महामारीविरुद्ध एकजुट हुने बेला आएको बताएका छन् । एकजुट भएर नै महामारलाई जित्न सकिने मोदीले शुभकामना सन्देशमा बताएका छन् ।

    उनले बिमस्टेक अध्यक्षको हैसियतमा श्रीलंकाले नेतृत्वदायी भूमिका खेल्न सक्नेमा मोदीले आशा समेत व्यक्त गरेका छन् । बिमस्टेक अध्यक्ष श्रीलंकाले पनि विज्ञप्ती जारी गर्दै कोभिड महामारी सामान्य रहे यसैवर्षको अन्त्यमा पाँचौ सम्मेलन गर्न सकिने जनाएको छ ।

4565