• इटहरी । नेवार समुदायको मौलिक भाषा, संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले इटहरीमा भीमसेन पूजा तथा रथयात्रा भव्य रूपमा सम्पन्न गरिएको छ। नेवा पुचः इटहरीको आयोजना तथा नेवा मिसा पुचः र नेवा ल्याम्ह पुचःको समन्वयमा नेवार समुदायले प्रत्येक वर्ष मनाउँदै आएको भीमसेन पूजा यस वर्ष पनि विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित मनाइएको हो।

    इटहरीस्थित नेवा पार्टी प्यालेसमा रहेको भीमसेन मन्दिरमा नेवार समुदायका सदस्यहरू सामूहिक रूपमा भेला भएर विधिपूर्वक पूजा गरेका थिए। परम्पराअनुसार राँगाको भोग दिइएको थियो भने मुख्य पुजारी रामकुमार प्रधानले धार्मिक विधिअनुसार पूजा सम्पन्न गराएका थिए। पूजामा नेवा मिसा पुचःकी अध्यक्ष कौशल्या श्रेष्ठ तथा नेवा पुचःका उपाध्यक्ष गोपाल श्रेष्ठसहित समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।

    पूजा कार्यक्रम नेवा पुचः इटहरीकी वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अम्बिका श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। पूजा सम्पन्न भएपछि भीमसेन देवताको मूर्तिलाई आकर्षक रूपमा सजाइएको रथमा राखेर नेवा पार्टी प्यालेसबाट रथयात्रा निकालिएको थियो। रथयात्रा इटहरी बजारका विभिन्न क्षेत्रको परिक्रमा गर्दै पुनः निर्धारित स्थानमा पुगेको थियो। रथयात्रामा नेवार समुदायका सदस्य, महिला, युवा तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    कार्यवाहक अध्यक्ष अम्बिका श्रेष्ठले नेवार समुदायले मेचीदेखि महाकालीसम्म भीमसेन पूजालाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएको बताइन्। आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्दै भावी पुस्तालाई समेत यससँग जोड्न इटहरीमा पनि प्रत्येक वर्ष विधिपूर्वक पूजा तथा रथयात्रा आयोजना गर्दै आएको उनको भनाइ छ।

    नेवा पुचः इटहरीका सचिव टुक नारायण श्रेष्ठका अनुसार संस्थामा हाल करिब ५ सय ५० सदस्य आबद्ध छन्। भीमसेन पूजा तथा रथयात्रापछि सहभागी सदस्यहरूबीच विशेष भोजको समेत आयोजना गरिएको थियो।

    नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकतालाई बलियो बनाउने उद्देश्यले आयोजना गरिएको भीमसेन पूजा तथा रथयात्राले इटहरीमा नेवार समुदायको मौलिक संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

4565