• दुहवी । रातो सारी, हरियो चुरा र तीजका गीतमा झुमिरहेका महिलाहरू मन्दिर परिसरमा गुञ्जिएको धुन अनि कलाकारहरूको प्रस्तुतिले दुहवी–८ कदमगाछीको वातावरण नै तीजमय बनेको थियो। हरितालिका तीजको अवसरमा सशक्त युवा समाजले आयोजना गरेको तीज विशेष कार्यक्रमले स्थानीयवासीलाई मनोरञ्जनसँगै नेपाली मौलिक कला र संस्कृतिसँग जोड्ने अवसर प्रदान गरेको हो।
    कदमगाछीस्थित मलंग बाबाको मन्दिर परिसरमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका थिए। विशेषगरी चर्चित लोकदोहोरी गायिका गंगा गौतम आचार्यको प्रस्तुतिले कार्यक्रमको माहोल थप उत्साहपूर्ण बनाएको थियो। उनले तीजका मौलिक गीतसँगै आफ्ना लोकप्रिय लोकदोहोरी तथा मनोरञ्जनात्मक गीत प्रस्तुत गर्दा उपस्थित दर्शकहरू खुलेर रमाएका थिए। गायिका आचार्यको प्रस्तुतिमा महिला तथा युवायुवतीहरू नाच्दै र गीतमा साथ दिँदै मनोरञ्जन लिएका थिए।
    त्यस्तै, गायक सन्तोष तिवारीले पनि विभिन्न लोकप्रिय गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरे। उनको प्रस्तुतिले कार्यक्रमलाई थप सांगीतिक र उत्साहपूर्ण बनाएको थियो।
    कार्यक्रममा युनाइटेड थर्टिन डान्स सेन्टरका कलाकारहरूले प्रस्तुत गरेको आकर्षक नृत्य तथा गायनले पनि दर्शकको ध्यान खिचेको थियो। कलाकारहरूको प्रस्तुति र तीजका गीत–संगीतसँगै मन्दिर परिसरमा उपस्थित दर्शकहरू उत्साहित देखिन्थे।
    सशक्त युवा समाजका अध्यक्ष सुजन पाण्डेको अध्यक्षता तथा दुहवी नगरपालिका–८ का वडाध्यक्ष तारिकचन्द सरदारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरदारले तीज नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसको मौलिकता र परम्परा जोगाउँदै नयाँ पुस्तासम्म पु¥याउनुपर्ने बताए। उनले युवाहरूको सक्रियतामा आयोजना हुने यस्ता सांस्कृतिक कार्यक्रमले स्थानीय प्रतिभालाई अवसर दिनुका साथै सामाजिक एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
    सशक्त युवा समाजका अध्यक्ष पाण्डेले युवाहरूलाई सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले मनोरञ्जनसँगै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा समाजले आगामी दिनमा पनि निरन्तर सामाजिक कार्यमा गर्ने बताए।
    कार्यक्रममा युनाइटेड थर्टिन डान्स सेन्टरका सञ्चालक रोशन पराजुली, समाजसेवीहरू शम्भु केसी, भगवती घिमिरे, पुरुषोत्तम भट्टराईलगायत स्थानीयवासी, महिला तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

4565