• इटहरी । बाल अधिकारको संरक्षण र अनलाइन बाल यौन दुव्र्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने उद्देश्यले इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा मंगलबार इटहरीस्थित इनटुरिष्ट होटलमा आयोजित ‘बाल अधिकार प्रवद्र्धन तथा अनलाइन बाल यौन दुव्र्यवहार रोकथाममा सञ्चार क्षेत्रको भूमिका सम्बन्धी कार्यशालामा सञ्चारकर्मीहरुको सहभागी रहेको थियो ।
    कार्यक्रममा बोल्दै भ्वाइस अफ चिल्ड्रेनका अध्यक्ष भरत थापाले बालबालिका कुनै पनि प्रकारको यौन दुव्र्यवहारको सिकार नबनून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले बाल अधिकारको संरक्षणमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै जिम्मेवार समाचार सम्प्रेषण र जनचेतनामूलक सामग्रीमार्फत बालबालिकाको सुरक्षामा प्रभावकारी योगदान दिन सकिने बताए।

    भ्वाइस अफ चिल्ड्रेन केन्द्रका कार्यक्रम संयोजक तथा सहजकर्ता गोविन्द कोइरालाले विद्युतीय माध्यममार्फत हुने बाल यौन दुव्र्यवहारका जोखिम र त्यसका दीर्घकालीन असरबारे प्रस्तुति दिँदै एकपटक विद्युतीय माध्यममा सार्वजनिक भएको सामग्री पटक–पटक हेरिने, फैलिने र त्यसले पीडित बालबालिकामाथि गम्भीर मानसिक असर पार्ने बताए। उनका अनुसार गत आर्थिक वर्षमा कोशी प्रदेशमा विद्युतीय माध्यमबाट हुने बाल यौन दुव्र्यवहारसम्बन्धी १०२ वटा घटना नेपाल प्रहरीमा दर्ता भएका छन्।
    त्यस्तै अर्का सहजकर्ता नेपाल पत्रकार महासङ्घका केन्द्रीय पुर्व सदस्य अमर खड्काले विद्युतीय सुरक्षा, विद्युतीय अपराधसम्बन्धी कानुन तथा डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे जानकारी दिँदै जिम्मेवार सञ्चार अभ्यास, कानुनी सचेतना र तथ्यमा आधारित समाचार सम्प्रेषणले बालबालिकालाई विद्युतीय अपराध तथा यौन दुव्र्यवहारबाट जोगाउन महत्वपूर्ण सहयोग पुग्ने बताए।

    कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले बाल अधिकार संरक्षण, विद्युतीय जोखिम न्यूनीकरण तथा बालमैत्री समाचार सम्प्रेषणमा सञ्चार क्षेत्रको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनकी कार्यक्रम अधिकृत पूजा भण्डारी, परियोजना सहायक प्रकाश परियारलगायतको सहभागिता रहेको थियो।

4565