• इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) इटहरीको आयोजनामा अन्तर विद्यालय आधारभूत तह चित्रकला प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। विद्यार्थीहरूमा रहेको सिर्जनशीलता, कला प्रतिभा तथा कल्पनाशक्तिको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा इटहरी नगरभित्रका २६ विद्यालयका कक्षा १ देखि ५ सम्मका ५२ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
    प्याब्सन सुनसरीको सभाहलमा सम्पन्न प्रतियोगितामा सहभागी बालबालिकाहरूले विविध विषयमा आकर्षक चित्रहरू कोरेर आफ्नो कला कौशल प्रस्तुत गरेका थिए। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने ५ जना विद्यार्थी जिल्ला स्तरीय चित्रकला प्रतियोगिताका लागि छनोट भएका छन् । छनोट भएका विद्यार्थीहरूले असार १४ गते आयोजना हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने प्याब्सन इटहरीका सचिव राजन दाहालले जानकारी दिए।

    उद्घाटन कार्यक्रम प्याब्सन इटहरीका अध्यक्ष सूर्य मणि निरौलाको अध्यक्षता तथा सङ्गीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष प्रदीप कुमार रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
    उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष निरौलाले चित्रकला जस्ता सिर्जनात्मक गतिविधिले बालबालिकाको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, कल्पनाशक्ति र प्रतिस्पर्धात्मक भावना विकास गर्ने धारणा राखे। उनले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गरे।

    त्यस्तै प्रमुख अतिथि रेग्मीले कला र सिर्जनशीलता व्यक्तित्व विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूले सानै उमेरदेखि आफ्नो प्रतिभा पहिचान गरी अगाडि बढ्नुपर्ने बताए। उनले यस्ता प्रतियोगिताले भविष्यका कलाकार उत्पादन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
    जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई आकर्षक रनिङ शिल्डसहित विभिन्न पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रममा प्याब्सन सुनसरीका उपाध्यक्ष गणेश भण्डारी, रञ्जन भट्टराई, विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

4565