• रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा सञ्चालित एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत महिला समूह सदस्यहरूका बालबालिकालाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
    सेभ द अर्थ सुनसरीको आयोजना तथा इटिसि नेपालको सहयोगमा सञ्चालित कार्यक्रम अन्तर्गत रामधुनी–८ स्थित सेरा आधारभूत विद्यालय, ठुलेमोर आधारभूत विद्यालय र शनिश्चरे माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई विद्यालय झोला, पोशाक, कापी, पेन्सिल, डटपेन लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो।
    कार्यक्रमको पहिलो चरणमा १ सय ४७ जना विद्यार्थीलाई सामग्री वितरण गरिएको सशक्तीकरण सामाजिक परिचालिका हिरा अधिकारीले जानकारी दिइन् ।
    उनका अनुसार रामधुनी नगरपालिका–२, ४, ८ र ९ का सामुदायिक विद्यालयमा अध्ययनरत कुल ३ सय ९५ जना विद्यार्थीलाई चरणबद्ध रूपमा शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य राखिएको छ ।

    स्टेसनरी वितरण कार्यक्रम सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षता तथा रामधुनी नगरपालिका–८ का वडाध्यक्ष सुरेन्द्र सिंह खवासको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका बालबालिकाको शिक्षामा पहुँच बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण आधार भएकाले आगामी दिनमा पनि शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिइने उल्लेख गरे।
    त्यस्तै वडाध्यक्ष खवासले सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक विकासमा सेभ द अर्थले गरेको सहयोग कार्यक्रम प्रशंसनीय रहेको बताउँदै स्थानीय सरकार, संघसंस्था र समुदायबीचको सहकार्यले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा राखे।
    कार्यक्रममा वडा सदस्य चन्द्रमान उराँव, संस्कार महिला उद्यम संस्थाकी अध्यक्ष रेणुका चौधरी लगायत स्थानीय, अभिभावक, शिक्षक तथा महिला समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले विपन्न परिवारका बालबालिकाको शैक्षिक आवश्यकतामा सहयोग पु¥याउनुका साथै विद्यालयप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ।

4565