• धनकुटा । विश्व वातावरण दिवसको अवसरमा धनकुटा लेडी जेसीजको आयोजनामा धनकुटा नगरपालिका–६ वडा कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा स्थानीय क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका ४० वटा बिरुवा रोपिएको हो।
    धनकुटा लेडी जेसीजकी अध्यक्ष टिका राईको अध्यक्षता तथा वडा नं. ६ का वडा अध्यक्ष मिलनकुमार खड्गी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कटहर, अम्बा, अमला जस्ता फलफूलका बिरुवासँगै गुलाब, कल्की लगायतका फूलका बिरुवाहरू रोपिएका थिए।
    कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष खड्गीले सार्वजनिक स्थल तथा वन क्षेत्रमा फलफूलका बिरुवा रोप्दा बाँदर लगायतका वन्यजन्तुको खाद्य आवश्यकतामा सहयोग पुग्ने र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत सकारात्मक प्रभाव पर्ने बताए।

    उनले वातावरण संरक्षणका अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
    धनकुटा लेडी जेसीजकी अध्यक्ष टिका राईले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक, शैक्षिक तथा वातावरणीय कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै वृक्षारोपण कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिइँदै आएको बताइन्। वातावरण संरक्षणका लागि प्रत्येक नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो।
    जेसिजकी उपाध्यक्ष शकुन्तला सुवेदीको संयोजनमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठ, पूर्व अध्यक्षहरू बिपना श्रेष्ठ, विशिका श्रेष्ठ, मुना पोखरेल, जनाश्रय टोल विकास संस्था, कचिडे महिला समूहका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
    कार्यक्रमले वातावरण संरक्षणप्रति सामुदायिक सचेतना अभिवृद्धि गर्नुका साथै हरित र स्वच्छ धनकुटा निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

4565