• इटहरी । विश्व वातावरण दिवसको अवसर पारेर तेली कल्याण समाज, नेपाल इटहरी कार्य समितिले शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
    वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रमअन्तर्गत इटहरी रंगशालास्थित इलाका प्रहरी कार्यालय परिसरमा विभिन्न जातका बिरुवाहरू रोपिएका हुन्।
    समाजका अध्यक्ष शिवकुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी कार्यालय परिसरलाई थप हराभरा र वातावरणमैत्री बनाउने उद्देश्यले फलफूल तथा छायाँ दिने बिरुवाहरू रोपिएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष शाहले वातावरण संरक्षण आजको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको जिम्मेवारीसमेत भएको बताए। उनले वृक्षारोपणलाई केवल एकदिने कार्यक्रमका रूपमा नभई निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

    “एक व्यक्तिले एक बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने हो भने वातावरणीय सन्तुलन कायम गर्न ठूलो योगदान पुग्ने अध्यक्ष शाहले बताए ।
    समाजका सदस्य संजय शाहले विश्वभर बढ्दो तापक्रम, वन विनाश तथा प्रदूषणका कारण वातावरणीय चुनौती बढिरहेको अवस्थामा यस्ता अभियानले जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
    कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी कर्मचारी, तेली कल्याण समाजका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले वातावरण जोगाउन सामूहिक प्रयास आवश्यक रहेको भन्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

4565