• इटहरी । कोशी प्रदेशमा सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यातायात प्रणालीको विकास तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित “कोशी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी प्रादेशिक गोष्ठी” इटहरीमा सम्पन्न भएको छ ।
    इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा भएको गोष्ठीमा सरकारी निकाय, सुरक्षा निकाय, यातायात व्यवसायी, नागरिक समाज, ट्राफिक प्रहरी तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
    प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ट्राफिक व्यवस्थापनका चुनौती, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र प्रविधिमैत्री समाधानका विषयमा विस्तृत छलफल गरिएको थियो ।
    कार्यक्रममा इन्जिनियर बिबेक सिङ्ले ले आधुनिक प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन सकिने उपायबारे प्रस्तुतीकरण गरेका थिए । त्यसैगरी नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारी ले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै बढ्दो दुर्घटना न्यूनीकरणका लागि सबै निकायबीच समन्वय आवश्यक रहेको बताएका थिए ।
    गोष्ठीमा सहभागी विभिन्न पक्षहरूले सडक दुर्घटना न्यूनीकरणका लागि संयुक्त प्रतिबद्धता जनाएका छन् ।
    सुरक्षित सडक प्रणाली अवलम्बन गर्दै कानुन कार्यान्वयनलाई कडाइका साथ लागू गर्ने, सडक पूर्वाधार सुधार गर्ने तथा ट्राफिक सचेतना अभियानलाई व्यापक बनाउने निर्णय गरिएको छ ।

    प्रतिबद्धता पत्रमा ब्ल्याक स्पट पहिचान गरी सुधार गर्ने, सडक संकेत तथा रोड मार्किङ व्यवस्थित बनाउने, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग सुनिश्चित गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने कार्य नियन्त्रण गर्ने तथा सुरक्षित सार्वजनिक यातायात प्रवद्र्धनमा जोड दिइएको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले लागूऔषध अहिले प्रदेशकै ठूलो समस्याका रूपमा देखा परेको उल्लेख गर्दै विराटनगरबाट सुरु गरिएको महाअभियान १४ वटै जिल्लामा विस्तार गरिने बताए ।
    उनले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय अत्यावश्यक रहेको धारणा व्यक्त गरे ।
    त्यस्तै कार्यक्रममा सहभागीहरूले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, चालक तथा यात्रुको सचेतना अभिवृद्धि, सडक पूर्वाधार सुधार तथा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए । उनीहरूले विशेषगरी सवारी चालक अनुमतिपत्र वितरण प्रक्रियालाई व्यवस्थित बनाउन, सार्वजनिक यातायातलाई सुरक्षित र जिम्मेवार बनाउन तथा युवामाझ बढ्दो लापरवाही नियन्त्रण गर्न संयुक्त अभियान आवश्यक रहेको बताएका थिए ।
    सहभागीहरूले संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य बलियो भए मात्र सडक सुरक्षा अभियान प्रभावकारी बन्ने निष्कर्ष समेत निकालेका थिए ।
    कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख दिपक गिरी, इटहरी उपमहानगर पालिकाका प्रवक्ता दिवश पोख्रेल, ड्राइभिङ स्कुल संघ कोशी प्रदेश अध्यक्ष शिव श्रेष्ठ, ट्रक व्यवसायी संघका अध्यक्ष विध्यपती उपाध्य तथा नागरिक समाज इटहरीका अध्यक्ष आरके राई लगायत विभिन्न जिल्लाका ट्राफिक प्रहरी प्रमुखहरूको सहभागिता रहेको थियो ।

4565