• ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा को पद सर्वोच्च अदालतको अन्तरिम आदेशपछि यथावत् रहने भएको छ । निर्वाचन आयोगले दल परिवर्तन गरेको आरोपमा पदमुक्त गरेपछि लामा सर्वोच्च अदालत पुगेका थिए । अदालतले शुक्रबार अन्तरिम आदेश जारी गर्दै आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

    आदेशपछि जिसस प्रमुख लामाले आफू पुनः पदमा कायम रहेको जानकारी दिनुभयो । उहाँका अनुसार मुद्दाको थप सुनुवाइ तथा प्रमाणीकरणका लागि अदालतले आगामी जेठ ११ गतेको मिति तोकेको छ । निर्वाचन आयोगले दल त्याग गरेको निष्कर्ष निकाल्दै लामा सहित देशभरका १६ जना जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

    आयोगको उक्त निर्णयविरुद्ध लामा सर्वोच्च अदालतमा रिट लिएर पुग्नुभएको थियो । सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो । अदालतको आदेशपछि आयोगको निर्णय तत्कालका लागि रोकिएको छ ।

    यस घटनाले स्थानीय तहका जनप्रतिनिधिको दल परिवर्तनसम्बन्धी कानुनी व्यवस्थामाथि पुनः बहस सुरु भएको छ । ताप्लेजुङमा समेत राजनीतिक चासो बढेको छ । सर्वोच्च अदालतको अन्तिम फैसला के आउँछ भन्ने प्रतीक्षामा स्थानीय राजनीतिक वृत्त रहेको छ । अदालतको आगामी सुनुवाइलाई महत्वका साथ हेरिएको छ ।

4565