इटहरी । नयाँ शैक्षिक सत्रसँगै विद्यालयहरूमा कक्षा सञ्चालन सुरु भइरहेका बेला मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा लोकतान्त्रिक अभ्यासको विकास गर्ने उद्देश्यले निर्वाचन प्रणालीमार्फत विद्यार्थी लिडर छनोट गरेको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ४ देखि कक्षा १० सम्मका करिब ३५० विद्यार्थीहरूले मतदान प्रक्रियामा सहभागी हुँदै आफ्ना प्रतिनिधिलाई मत दिएका हुन् । विद्यालयले ब्लू, ग्रीन, येलो र रेड हाउसका लागि क्याप्टेन तथा भाइस क्याप्टेन चयन गरेको जनाएको छ । निर्वाचन प्रक्रियामा विद्यार्थीहरूले उत्साहपूर्वक मतदान गर्दै लोकतान्त्रिक अभ्यासको प्रत्यक्ष अनुभव लिएका थिए ।
निर्वाचन परिणाम अनुसार ब्लू हाउसको कप्तानमा संयोगबाबु कोइराला ३५ मतसहित निर्वाचित भएका छन् भने भाइस कप्तानमा सुप्रित पाण्डे ३३ मतसहित चयन भएका छन् । यस्तै, येलो हाउसको कप्तानमा उत्कर्ष थापा ४३ मतसहित विजयी भएका छन् भने भाइस कप्तानमा रविन चौधरी निर्वाचित भएका छन् ।
ग्रीन हाउसको कप्तानमा युनिशा खतिवडा ४४ मतसहित निर्वाचित हुँदा भाइस कप्तानमा अद्वितीय रसाइली ३६ मतसहित विजयी भएका छन् । रेड हाउसको कप्तानमा ममिषा कटवाल र भाइस कप्तानमा वर्षत श्रेष्ठ चयन भएका छन् । विद्यालय क्याप्टेनमा भूमिराज विष्ट १७४ मतसहित निर्वाचित भएका छन् भने भाइस क्याप्टेनमा सास्वत थापा चयन भएका छन् । निर्वाचनमा कुल २८१ मत खसेको विद्यालयले जनाएको छ ।
निर्वाचनमा सहभागी विद्यार्थी उम्मेदवारहरूले आफू निर्वाचित भएपछि विद्यालयको अनुशासन कायम गर्ने, विद्यार्थीबीच सहकार्य र सकारात्मक वातावरण निर्माण गर्ने तथा अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विद्यालयका सह–प्रधानाध्यापक मणि पौडेलले विद्यार्थीहरूलाई किताबमा मात्र सीमित नराखी व्यवहारिक तथा प्रत्यक्ष सिकाइ दिन विद्यालयले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
प्रधानाध्यापक थानेश्वर ढकालले विद्यालयले शैक्षिक गतिविधिसँगै विद्यार्थीहरूको व्यक्तित्व विकासलाई समेत प्राथमिकतामा राख्दै आएको उल्लेख गरे ।
News Desk response
शनिबार, जेष्ठ ९, २०८३