• इटहरी । समावेशी शिक्षा, सुरक्षित वातावरण र व्यक्तिगत सिकाइ सहयोगको लक्ष्य सहित सुनसरीको इटहरी–९ मा ‘वेदा एकेडेमी’ सञ्चालनमा आएको छ ।
    विशेषगरी अटिजम तथा विभिन्न विकासात्मक कठिनाइ भएका बालबालिकालाई लक्षित गर्दै शैक्षिक सत्र २०८३ बाट औपचारिक रूपमा सुरु गरिएको यो एकेडेमीले कोशी प्रदेशमै नयाँ शैक्षिक अभ्यासको सुरुआत गरेको हो ।
    बालरोग विशेषज्ञको परामर्श, बालमैत्री संरचना र आधुनिक शिक्षण पद्धति सहित स्थापना गरिएको एकेडेमीले साना बालबालिकाको समग्र विकासमा केन्द्रित रही शिक्षण गर्ने लक्ष्य लिएको छ ।

    विद्यालयमा प्रत्येक बालबालिकाको व्यक्तिगत आवश्यकता अनुसार सिकाइ योजना तयार पारिने, सुरक्षित र समावेशी वातावरण सुनिश्चित गरिने तथा बाल संरक्षणलाई उच्च प्राथमिकतामा राखिने छ ।
    एकेडेमीकी प्रिन्सिपल श्रृजना तिम्सिनाले इटहरी क्षेत्रमा अटिजम र अन्य विकासात्मक चुनौती भएका बालबालिकाको संख्या बढ्दो रहे पनि उनीहरूका लागि उपयुक्त शिक्षण संस्था अभाव भएको कारण कुनै पनि बालबालिका शिक्षा बाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले संचालनमा ल्याएको बताइन ।

    त्यस्तै, एकेडेमीका सञ्चालक डाक्टर संजय कुमार साहले यस्ता बालबालिकाको सिकाइ शैली फरक हुने भएकाले परम्परागत शिक्षण पद्धतिले मात्र पर्याप्त नहुने उल्लेख गरे। “हामी प्रत्येक बालबालिकाको क्षमता पहिचान गरेर फरक–फरक तरिकाले विकासमा सहयोग पु¥याउने बताए । उनले कोशी प्रदेशमै यस प्रकारको समावेशी र विशेष आवश्यकतामा केन्द्रित विद्यालय पहिलो पटक सञ्चालनमा आएको पनि बताए ।
    एकेडेमीमा विभिन्न विषयमा दक्ष शिक्षकद्वारा अध्यापन, अभ्यास बालमैत्री शिक्षा प्रदान गर्दै सामाजिक, भावनात्मक र व्यवहारिक विकासमा विशेष जोड दिइनेछ । इच्छुक अभिभावकलाई समयमै भर्ना प्रक्रिया पूरा गर्न एकेडेमीले अनुरोध समेत गरेको छ ।

4565