• इटहरी । नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको आयोजनामा एक दिने अवलोकन तथा भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
    स्थानीय रमणीय ठाउँ घुमौं, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरौं भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले पहाडी क्षेत्रका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको अवलोकन गरेका हुन् ।
    भ्रमणका क्रममा टोलीले सागुरीगढीको डाँडाबजार, भेडेटार स्थित पाथिभरा मन्दिर, नाम्जे, ओख्रे, राजारानी ताल लगायतका आकर्षक स्थलहरूको अवलोकन गर्दै केराबारी गाउँपालिकामा रहेको जेफासम्मको सांगीतिक यात्रा गरेका थिए ।
    “आफै कमाऊँ, आफै रमाऊँ” भन्ने आफ्नै सिद्धान्तलाई आत्मसात गर्दै सेवा निवृत्त कर्मचारीहरूले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेका हुन् ।

    साही अवसरमा डाँडाबजारस्थित ध्वजेडाँडा सामुदायिक अध्ययन केन्द्रमा कविता वाचन कार्यक्रम समेत आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दै सांस्कृतिक वातावरण सिर्जना गरेका थिए ।
    त्यसैगरी, टोलीले भानु माध्यमिक विद्यालयको समेत अवलोकन गरेको थियो । विद्यालयका प्रधानाध्यापक कमल सुब्बासँगको भेटमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको संघका केन्द्रीय सदस्य तथा इटहरीका सचिव राजु गौतमले जानकारी दिए ।
    संघका अध्यक्ष कृष्ण नेपालले यस्ता कार्यक्रमले निवृत्त जीवनलाई सक्रिय, सिर्जनात्मक र सामाजिक रूपमा उपयोगी बनाउने विश्वास व्यक्त गरे ।
    कार्यक्रममा सहभागीहरूले कविता वाचन, नाटक, नाचगान गर्दै रमाइलो वातावरणमा अवलोकन गरेका थिए ।
    कार्यक्रममा ध्वजेडाँडा सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष ध्रुव घिमिरेले निवृत्त कर्मचारीहरूको आगमनले यस क्षेत्रको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको बताए ।

4565