• कोकिला भण्डारी

    धनकुटा । कोशी प्रदेशको पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित धनकुटाको साँगुरीगढी गाउँपालिका–स्थित रमणीय नाम्जे थुम्कीबाट पर्यटन पत्रकारिता तालिम सुरु गरिएको छ। प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावनाले भरिपूर्ण स्थानमै आयोजना गरिएको यो तालिमले प्रदेशका गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।

    नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय धरानको सहकार्यमा सञ्चालन भएको तालिमको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गरे। उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले सरकारी सूचनालाई केवल सरकारी सञ्चार माध्यममै सीमित गर्ने निर्णय सच्याउन आवश्यक रहेको उल्लेख गर्दै स्वतन्त्र र व्यावसायिक पत्रकारितालाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे।

    उनले कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटनको दृष्टिले अत्यन्तै सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै यसको प्रभावकारी प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका अपरिहार्य रहेको बताए। स्थानीय तह, प्रदेश सरकार र सञ्चार माध्यमबीच सहकार्यमार्फत मात्र पर्यटन क्षेत्रको दिगो विकास सम्भव हुने उनको भनाइ थियो।

    मन्त्री पराजुलीले विशेषगरी धनकुटाका नाम्जे, थुम्की, राजारानी, नमस्ते झरना, स्काईवाकजस्ता आकर्षक गन्तव्यहरूको व्यापक प्रचार–प्रसार गर्न पत्रकारहरूलाई आग्रह गरे। उनले स्थानीय प्राकृतिक सम्पदा, संस्कृति र ग्रामीण जीवनशैलीसँग जोडिएका गन्तव्यलाई राष्ट्रिय पहिचान दिलाउन पत्रकारिताले महत्वपूर्ण योगदान दिन सक्ने बताए।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासले धनकुटाबाट विभिन्न सरकारी कार्यालय सारिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसले जिल्लाको समग्र विकासमा असर परेको बताए। त्यस्तै, पत्रकार लीलावल्लभ घिमिरेले पर्यटन कार्यालय धरानमै सीमित नभई पहाडी क्षेत्रमै स्थापना हुनुपर्ने धारणा राखे।

    नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशका ९ जिल्लाबाट आएका सक्रिय पत्रकारहरूको सहभागिता रहेको महासचिव हिमा चेम्जुङले जानकारी दिइन्।

    तालिममार्फत सहभागी पत्रकारहरूलाई पर्यटन पत्रकारिताको आधारभूत अवधारणा, पर्यटकीय सम्भावनाको खोजी, पर्यटनमैत्री समाचार लेखन, गन्तव्यको ब्रान्डिङ र प्रभावकारी प्रचार–प्रसारका विषयमा प्रशिक्षण दिइनेछ।

    साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रूम्दाली राई, पर्यटन कार्यालय धरानका प्रमुख भिषम राईलगायतको उपस्थितिमा सुरु भएको यो तालिमले कोशी प्रदेशका ओझेलमा परेका गन्तव्यलाई उजागर गर्दै पर्यटन क्षेत्रको दिगो विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ।

4565