• मोरङ । मोरङको सुन्दरहरैचा–९ स्थित श्रीकृष्ण प्रणामी मन्दिर सलकपुरको स्थापनाको ५०औँ वर्षमा प्रवेश गरेको अवसरमा अन्तर्राष्ट्रिय स्वर्ण महोत्सव आयोजना हुने भएको छ।
    श्रीकृष्ण प्रणामी मन्दिर सेवा आश्रमले पत्रकार सम्मेलन मार्फत आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी धार्मिक महोत्सव सञ्चालन गरिने जानकारी दिएको हो ।
    महोत्सव अवधिभर १०८ श्रीमत्तारतम सागर पाठ पारायण, वाणी चर्चा, श्रीमद्भागवत कृष्ण कथा ज्ञान महायज्ञ, सन्त सम्मेलन तथा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने कार्यक्रम संयोजक रामप्रसाद गजुरेलले जानकारी गराए ।
    महोत्सवमा नौतनपुर धामका विख्यात कथावाचक स्वामी १०८ लक्ष्मणदेवजी महाराजबाट भागवत कथा प्रवचन हुनेछ ।
    यसैगरी श्रीकृष्ण प्रणमी धर्माचार्य अनन्त श्री विभूषित जगतगुरु कृष्णमनिजी महाराज, महामंगलापुरी धाम सुरतका गादीपति जगतगुरु आचार्य अनन्त श्री विभूषित सूर्यनारायण दासजी महाराज, श्री ५ पद्मावतीपुरी धाम मन्दिर ट्रस्टका परमहंस श्री १०८ सदानन्दजी महाराज तथा संस्थाका संरक्षक गादीपति श्री १०८ मोहन प्रियाचार्य महाराजको विशेष उपस्थितिमा श्रीमत्तारतम सागर ब्रह्मवाणी चर्चा गरिनेछ ।

    महोत्सवमा अन्तर्राष्ट्रिय स्तरका सन्त तथा धर्माचार्यहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।
    कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने तय गरिएको जनाए ।
    हरेक दिन बिहान पूजापाठ, योग, ध्यान तथा चिन्तनका कार्यक्रम सञ्चालन गरिनेछन् भने साँझ भजन–कीर्तन सहित धार्मिक ,सांस्कृतिक प्रस्तुति रहनेछ ।
    पूर्व मेयर शिवप्रसाद ढकालले यस्ता धार्मिक तथा आध्यात्मिक महोत्सवहरूले समाजलाई केवल धर्मसँग मात्र नभई नैतिकता, अनुशासन र सकारात्मक जीवनशैलीसँग समेत जोड्ने महत्वपूर्ण भूमिका खेल्ने बताए ।
    उनले वर्तमान समयमा समाज विभिन्न किसिमका विकृति, विसंगति र भौतिकतावादी सोचतर्फ उन्मुख भइरहेका बेला यस्ता कार्यक्रमहरूले मानिसलाई सही मार्गतर्फ प्रेरित गर्ने उल्लेख गरे ।
    श्रीकृष्ण प्रणामी संरक्षण सेवा समिति तथा मूल समारोह समितिका अध्यक्ष कृष्णप्रसाद शर्मा बास्तोलाले महोत्सवमा सहभागी हुने करिब एक हजार भक्तजनका लागि आवास तथा भोजनको व्यवस्था मिलाइएको जानकारी दिए। साथै, महोत्सवबाट संकलित रकम बाट गुरुकुल निर्माणमा खर्च गरिने र सनातन संस्कृति संरक्षणमा योगदान पु¥याइने उनले बताए ।
    पत्रकार सम्मेलनमा मनोज मधुकर महाराज,मोहनानन्द महाराज, श्रीकृष्ण प्रणामी मुक्तीधाम इटहरीका अध्यक्ष हेम प्रसाद घिमिरे लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

4565