• इटहरी । सुनसरीको इटहरीस्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको मुक्तीधाम परिसरमा सञ्चालित एमआरएस अस्पतालमा निर्माणाधीन क्यान्टिन चमेना गृहको कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवारले स्थलगत अवलोकन गरेका छन्।
    अस्पतालले बिरामी, कुरुवा तथा सर्वसाधारणका लागि सुलभ मूल्यमा स्वच्छ खाजा तथा भोजन उपलब्ध गराउने उद्देश्यले उक्त क्यान्टिन निर्माण कार्य अघि बढाएको हो।

    प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त संरचनाले अस्पतालमा आउने सेवाग्राहीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। अवलोकनका क्रममा मन्त्री सुनुवारले निर्माणको प्रगति, गुणस्तर तथा समयमै सम्पन्न गर्ने विषयमा चासो व्यक्त गरेका थिए ।

    सोही क्रममा मन्त्री सुनुवारले अस्पतालको समग्र सेवा अवस्था, बिरामीको चाप, व्यवस्थापन पक्ष लगायतका विषयमा पनि जानकारी लिएका थिए। उनले मुक्तीधाम परिसरमै अवस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा पुगेर पूजा–अर्चना समेत गरेका थिए, जसले धार्मिक तथा सामाजिक पक्षलाई समेत जोड दिएको देखिन्छ।

    मंगल राधिका सदानन्द प्रणामी अस्पताल निर्माण समिति अध्यक्ष हेमप्रसाद घिमिरेले प्रदेश सरकारको सहयोगमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए। तर, हालको बजेट अपुग हुने देखिएकाले निर्माण सम्पन्न गर्न थप बजेट आवश्यक पर्ने उनले बताए। घिमिरेले आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन गरिदिन प्रदेश सरकारसँग आग्रह समेत गरे।

    उनका अनुसार क्यान्टिन निर्माण सम्पन्न भएपछि अस्पतालमा उपचारका लागि आउने बिरामी, उनीहरूका कुरुवा तथा अन्य आगन्तुकले सस्तो, स्वच्छ र गुणस्तरीय खानपान सेवा सहजै पाउनेछन्। यसले अस्पतालको सेवा प्रवाहलाई अझ व्यवस्थित बनाउनुका साथै सेवाग्राहीको दैनिक आवश्यकता पूर्तिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

    अवलोकनपछि मन्त्री सुनुवारले इटहरी क्षेत्रको धार्मिक पर्यटनसँगै स्वास्थ्य पूर्वाधारको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए। उनले यस्ता संरचनाले स्थानीय स्तरमै गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने उल्लेख गर्दै आगामी बजेटमा आवश्यक स्रोत सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। साथै, उनले स्वास्थ्य क्षेत्रको दिगो विकासका लागि सरकार, स्थानीय निकाय र समुदायबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।

    स्थानीयवासी तथा सेवाग्राहीले पनि क्यान्टिन निर्माण कार्यलाई सकारात्मक रूपमा लिँदै यसले अस्पतालको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेका छन्।

4565