• इटहरी । सुनसरीको इटहरीमा सक्रिय नेवार समुदायको संस्था नेवाः पुच इटहरीको २६ औँ साधारणसभा तथा १२ औँ अधिवेशन, नेवाः मिसा पुचको २२ औँ अधिवेशन र नेवाः ल्याम्ह पुचको अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।
    अधिवेशनबाट नेवाः पुच इटहरीको अध्यक्षमा मानकुमार श्रेष्ठ, नेवाः मिसा पुचकी अध्यक्षमा कौशल्या श्रेष्ठ र नेवाः ल्याम्ह पुचको अध्यक्षमा रविन श्रेष्ठ चयन भएका हुन् ।
    नयाँ नेतृत्व चयनसँगै तीनवटै संस्थाले आगामी कार्यकालका लागि समुदाय केन्द्रित विभिन्न कार्यक्रम अघि बढाउने बताएका छन् ।
    नेवाः पुच इटहरीको वरिष्ठ उपाध्यक्षमा अम्बिका देवी श्रेष्ठ, उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा टुक नारायण श्रेष्ठ, सह–सचिवमा भिम बहादुर श्रेष्ठ र कोषाध्यक्षमा डोग बहादुर प्रधान चयन भएका छन्। यसैगरी अन्य पदाधिकारी सहित १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
    त्यस्तै नेवाः मिसा पुचकी वरिष्ठ उपाध्यक्षमा हिना श्रेष्ठ, उपाध्यक्षमा शोभा बनियाँ, सचिवमा मुनम मानन्धर, सह–सचिवमा तुलसा श्रेष्ठ र कोषाध्यक्षमा प्रमिला प्रधान चयन भएका छन् ।

    उनीहरूसहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको आयोजकले जनाएको छ ।
    नेवाः ल्याम्ह पुचको उपाध्यक्षमा सुभम श्रेष्ठ, सचिवमा शुभम श्रेष्ठ र सह–सचिवमा प्रोगेश प्रधानसहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
    नवनिर्वाचित अध्यक्ष मानकुमार श्रेष्ठले नेवार समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि संस्थाले निरन्तर काम गर्दै आएको बताए । उनले इटहरी तथा आसपासका क्षेत्रमा छरिएर रहेका नेवार समुदायलाई एकजुट बनाउँदै सामाजिक तथा सांस्कृतिक गतिविधि थप सशक्त बनाइने बताए ।
    त्यस्तै नेवाः मिसा पुचकी अध्यक्ष कौशल्या श्रेष्ठले महिलाहरूको सक्रिय सहभागिता सहित नेवारी संस्कार, भाषा र परम्पराको संरक्षणमा नयाँ कार्यसमितिले विशेष कार्यक्रमहरु सञ्चालन गर्ने बताइन् ।
    इटहरीस्थित नेपा पार्टी प्यालेसमा आयोजित अधिवेशनमा निर्वाचन संयोजक राजेश श्रेष्ठले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई गोपनीयताको सपथ गराएका थिए। संयोजक श्रेष्ठले सहमति र एकताको आधारमा नेतृत्व चयन हुनु समुदायका लागि सकारात्मक सन्देश भएको बताए ।

4565