• इटहरीमा शनिबार “इटहरी प्रज्ञा संवाद” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। माइतीघर क्याफेमा आयोजित उक्त कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईसँग प्रत्यक्ष संवाद, साहित्यिक विमर्श तथा सृजनात्मक प्रस्तुति गरिएको थियो ।
    नेपाल विटको आयोजनामा भएको कार्यक्रममा उपस्थित सबै साहित्यकारहरूले कुलपति राईलाई सामूहिक स्वागत तथा सम्मान गरेका थिए ।
    नेपालबिटका अध्यक्ष रामप्रसाद खरेलले कार्यक्रमको उद्देश्य साहित्यिक बहसलाई स्थानीय तहसम्म विस्तार गर्नु र सर्जकहरूबीच सृजनात्मक संवादलाई मजबुत बनाउनु रहेको बताए ।

    उनका अनुसार, प्रज्ञा संवादले नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्ने विश्वास लिइएको बताए ।
    कार्यक्रममा साहित्यकार गोपाल देवान, केसु विरही, विनोद घिमिरे, प्रदेश सभा सदस्य मिना श्रेष्ठ तथा लोकदोहोरी गायिका गंगा गौतमलगायतले कविता वाचन गर्दै श्रोतामाझ साहित्यिक रस पस्किएका थिए । कविता, विचार र सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त बनाएको सहभागीहरूको भनाइ थियो ।
    कार्यक्रममा धरान, बेलबारील गायत आसपासका क्षेत्रबाट आएका साहित्यकारहरूको उल्लेख्य सहभागिताले कार्यक्रमको क्षेत्रीय पहुँच र प्रभावलाई प्रस्ट पारेको थियो ।
    साथै, शिक्षण संस्थाका प्रतिनिधिहरूको उपस्थितिले साहित्य र शिक्षाबीचको सहकार्यलाई पनि उजागर ग¥यो ।
    कार्यक्रममा विश्वआदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरे,सुष्मा गोदावरी कलेजका प्राचार्य बोधराज नेपाल तथा साहित्यकारहरू कृष्ण अधिकारी, कृष्ण विनोद लम्साल लगायतको सहभागिता रहेको थियो ।
    इटहरी प्रज्ञा संवादले साहित्यिक चेतना अभिवृद्धि गर्दै सर्जक, बौद्धिक र शैक्षिक समुदायबीच सशक्त संवादको वातावरण सिर्जना गरेको थियो ।

4565