• रामधुनी । विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा बिहीबार भासी स्वास्थ्य चौकीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    सेभ द अर्थको आयोजनामा सम्पन्न कार्यक्रममा रामधुनी नगरपालिकाका विभिन्न वडामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागितामा भएको कार्यक्रम संकल्प परियोजनाकी कार्यक्रम संयोजक पुजा कार्कीको अध्यक्षता तथा रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, तेजनारायण यालवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रामधुनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुलोचना चौधरीले उपेक्षित उष्णप्रदेशीय रोगसम्बन्धी जानकारी गराएका थिए ।
    कार्यक्रमको मुख्य उद्देश्य उपेक्षित उष्णप्रदेशीय रोगहरूकाबारेमा समुदायमा जनचेतना अभिवृद्धि गर्नु, ती रोगहरूको सामाजिक र स्वास्थ्यगत असरबारे जानकारी गराउनु तथा समयमै पहिचान, उपचार र रोकथामको महत्व उजागर गर्ने साथै, रोगसँग जोडिने सामाजिक विभेद र लाञ्छनाको अन्त्य गर्नुपर्ने विषयमा पनि विशेष उदेश्य रहेको सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिए ।

    कार्यक्रममा वक्ताहरूले समुदायस्तरमा जनचेतना फैलाउने, सम्भावित बिरामीको पहिचान गर्ने तथा रोगसम्बन्धी भ्रम र विभेद न्यूनीकरण गर्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे ।
    रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले उपेक्षित रोगहरूको नियन्त्रण तथा निवारणका लक्ष्य हासिल गर्न स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच सुदृढ सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए ।
    अन्तरक्रियाका क्रममा सहभागीहरूले समुदायमा काम गर्दा भोग्नुपरेका अनुभव, चुनौती र समाधानका उपायहरू साझा गरेका थिए, जसले कार्यक्रमलाई अझ प्रभावकारी र व्यवहारिक बनाएको थियो ।
    कार्यक्रमको अन्त्यमा सहभागीहरूले सामूहिक प्रयासमार्फत समुदायको सहभागिता मजबुत बनाउँदै उपेक्षित उष्णप्रदेशीय रोगसम्बन्धी स्वास्थ्य सेवाहरूलाई थप पहुँचयोग्य र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
    कार्यक्रममा भासि स्वास्थ्य चौकी इन्चार्ज चकेन्द्र थापा लगायतको सहभागिता रहेको थियो ।

4565