• इटहरी । नेपाल एकीकरणका नायक तथा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस इटहरीमा भव्यताका साथ मनाइने तयारी पूरा भएको छ ।
    विगतका वर्षहरूझैँ यस वर्ष पनि पौष २७ गते विविध कार्यक्रमसहित पृथ्वी जयन्ती मनाउन लागिएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
    मूल समारोह समितिका संयोजक केशव भट्टराईका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । उनले यस वर्ष विशेष कार्यक्रमहरू सहित पृथ्वी नारायण शाहको योगदानलाई स्मरण गरिने बताए ।
    कार्यक्रम अन्तर्गत पृथ्वी नारायण शाहको प्रतीकात्मक रूप बनाएर घोडसवार सहित बजार परिक्रमा, विभिन्न जातजाति तथा संस्कृतिलाई झल्काउने झाँकी, वक्तृत्वकला प्रतियोगिता तथा सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्
    । समितिले राष्ट्रनिर्माताको जन्मजयन्ती भव्य रूपमा मनाउन सम्पूर्ण देशवासीलाई सहभागिताका लागि आग्रह समेत गरेको छ ।
    कार्यक्रमका मुख्य वक्ताका रूपमा सरला कायस्थ, रामकुमार सुब्बा, जयन्द्रवीर सिंह बस्न्यात र कुमार बहादुर कार्कीले पृथ्वी नारायण शाहको योगदान र राष्ट्रिय एकता सम्बन्धी विषयमा धारणा राख्ने छन् ।
    समितिका पूर्व संयोजक भोलाकाजी बस्नेतका अनुसार इटहरीमा विगत १४ वर्षदेखि निरन्तर नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाइँदै आएको छ । कुनै राजनीतिक दल वा संस्थाको आयोजनामा नभई इटहरीका नागरिकहरूको पहलमा कार्यक्रम आयोजना हुँदै आएको र यस वर्ष करिब १ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको बस्नेतले जानकारी दिए ।
    यस वर्ष आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा कलेज तहका १४५ जना र विद्यालय तहका २५ जना विद्यार्थी सहभागी भएका छन्। प्रतियोगिताबाट छनोट भएका दुवै तहका उत्कृष्ट तीन–तीन जनालाई कार्यक्रमकै दिन पुरस्कार वितरण गरिने समितिले जनाएको छ ।
    पत्रकार सम्मेलनमा मूल समारोह समितिका पूर्व संयोजक डा. बद्री विशाल पोखरेललगायतको उपस्थिति रहेको थियो ।

4565