• इटहरी । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदेशको चौथो वार्षिक साधारणसभा शनिबार इटहरीमा भव्य रूपमा सम्पन्न भएको छ ।
    शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र अधिकारमुखी बनाउने उद्देश्य सहित आयोजना गरिएको साधारणसभामा प्रदेश तथा केन्द्रका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
    नेका कोशी प्रदेशका अध्यक्ष सन्तोष कुरुवाङ (लिम्बू) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलको प्रमुख अतिथ्यमा भएको थियो ।
    साधारणसभामा अध्यक्ष सन्तोष लिम्बूले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नेका अन्तर्गत आवद्ध शैक्षिक परामर्श व्यवसायीहरू आपसी सहकार्य, अनुभव आदान–प्रदान र एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

    कोषाध्यक्ष चन्दन माझीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघको आर्थिक अवस्थाबारे जानकारी गराए ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सन्तोष प्याकुरेलले शैक्षिक परामर्शदाताहरूको हकहितका विषयमा संघले सशक्त आवाज उठाउनुपर्ने बताउँदै यस क्षेत्रमा देखिएका चुनौतीहरूलाई सामूहिक रूपमा सामना गर्नुपर्ने धारणा राखे। पछिल्लो राजनीतिक तथा नीतिगत परिवर्तनले व्यवसायमा अवसर र चुनौती दुवै ल्याएको भन्दै नियम–कानुनको दायरामा रहेर सचेत रूपमा काम गर्न आग्रह गरे।

    साधारणसभाको अवसरमा पत्रकारिता मार्फत दुई दशक देखि समाजमा योगदान पु¥याएको र नेका कोशीका गतिविधिलाई सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रकाशन–प्रसारण गरेको भन्दै एभी न्यूज खबरका संवाददाता तथा सप्तकोशी टेलिभिजनका सञ्चालक दीपक कार्कीलाई दोसल्ला ओढाई सम्मानपत्र र नगद पाँच हजार सहित सम्मान गरिएको थियो ।
    कार्यक्रममा नेका केन्द्रीय उपाध्यक्षद्वय भूपेन्द्र सिटौला र रमन कोइराला, केन्द्रीय महासचिव दीपक कोइराला, केन्द्रीय सचिव प्रधुम्न बोगटी, केन्द्रीय कोषाध्यक्ष सूर्य पोखरेल, केन्द्रीय सदस्य तथा नेका कोशी प्रदेशका संस्थापक अध्यक्ष मोहन विक्रम तिगेला लगायतको उपस्थिति रहेको थियो। यस्तै आईडीपी आईएलटीएसका प्रतिनिधि शिक्षा थापा, जेएलसीटीका प्रतिनिधि मित्र थापा तथा नेका कोशीका सल्लाहकार संयोजक प्रमोद श्रेष्ठको पनि आतिथ्यता रहेको थियो ।
    पत्रकार रेवती निरौलाले सञ्चालन गरेको कार्यक्रममा नेका कोशी प्रदेशका सदस्य विनोद कोइरालाले स्वागत मन्तव्य राखेका थिए।

4565