• सुनसरी । केही दिनयता तापक्रम निरन्तर घट्दै जाँदा पूर्वी नेपालका विभिन्न जिल्लामा सितलहरसहितको चिसोले जनजीवन कष्टकर बनेको छ। विशेषगरी सुनसरी, मोरङ, झापा लगायत तराईका जिल्लामा बिहान र साँझ चिसो हावासँगै बाक्लो कुहिरो लाग्दा दैनिक जीवन प्रभावित भएको छ ।
    चिसो बढेसँगै स्थानीय बासिन्दा बिहानैदेखि आगो बालेर तापिरहेको दृश्य गाउँ–टोलदेखि सहरी क्षेत्रसम्म देख्न सकिन्छ । ग्रामीण भेगमा किसानहरूले गाईभैंसी, बाख्रा जस्ता पशुचौपायालाई चिसोबाट जोगाउन लुगा ओढाइदिने र गोठ वरिपरि आगो बालेर राख्ने गरेका छन्।
    सितलहरको प्रत्यक्ष असर जेष्ठ नागरिक, बालबालिका तथा दीर्घरोगीहरूमा बढी देखिएको छ। चिसोका कारण रुघाखोकी, दम, जोर्नी दुखाइ लगायतका समस्या बढ्दै गएका छन्। स्थानीय स्वास्थ्य संस्थाहरूका अनुसार चिसो बढेपछि बिरामीको चाप समेत बढ्न थालेको छ ।
    चिसो र कुहिरोका कारण बिहानपख सवारी आवागमनमा पनि समस्या देखिएको छ। पूर्व–पश्चिम राजमार्ग तथा भित्री सडकखण्डमा दृश्यता कम हुँदा सवारी साधनहरू बिस्तारै सञ्चालन गर्नुपरेको चालकहरू बताउँछन्। यसले यात्रुहरूलाई गन्तव्यमा पुग्न ढिलाइ हुने अवस्था सिर्जना गरेको छ ।
    मौसमविद्हरूले आगामी केही दिनसम्म चिसो अझै बढ्न सक्ने अनुमान गरेका छन्। यसबीच स्थानीय प्रशासन र सरोकारवालाले जेष्ठ नागरिक, गरिब तथा विपन्न वर्गका लागि न्यानो कपडा वितरण, सामूहिक ताप्ने व्यवस्था तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। चिसोबाट जोगिन न्यानो कपडा लगाउने, आगो बाल्दा सावधानी अपनाउने र स्वास्थ्यमा समस्या देखिए तत्काल उपचार गराउने सुझाव समेत दिइएको छ ।

4565