• इटहरी । चिसो मौसम बढेसँगै पिकनिक तथा घुमफिरका लागि भीड लाग्ने इटहरीको प्रमुख पर्यटकीय स्थल तालतलैयाको वरीपरी तथा पछाडिको क्षेत्रमा जथाभावी फोहोरका कारण संकटमा पर्न थालेको स्थानको सरसफाइ गरिएको छ ।
    पिकनिक मनाउन आउनेहरूको लापरबाही र फोहोर व्यवस्थापनप्रति तालतलैया विकास तथा संरक्षण समितिले पर्याप्त चासो नदेखिएको अवस्थामा स्थानीय युवाहरूले सरसफाइ गरेका हुन ।
    समाजप्रतिको माया र जिम्मेवारी सहित बुल्स एलेभेन क्लब र स्थानीय युवाहरूको संयुक्त पहलमा शनिबार तालतलैया क्षेत्रमा बृहत् श्रमदान अभियान सञ्चालन गरिएको छ । श्रमदान अभियान अन्तर्गत तालतलैयाको पछाडिको सुन्दर क्षेत्र वरिपरि थुप्रिएको प्लास्टिकजन्य फोहोर, बोतल, कागज लगायतका फोहोर संकलन गरी सफाइ गरिएको हो ।
    बुल्स एलेभेन क्लबका उपाध्यक्ष रामु राईले संम्बन्धित तालतलैया विकास तथा संरक्षण समितिले पिकनिक खानेहरूसँग सरसफाइ शुल्क लिई स्थल उपलब्ध गराउँदै आए पनि सोही क्षेत्र वरिपरिको फोहोर व्यवस्थापनमा भने अपेक्षित ध्यान नदिएको देखिएको छ ।
    यही अवस्थालाई मध्यनजर गर्दै स्थानीय युवाहरूको सक्रियतामा सरसफाइ अभियान सञ्चालन गरिएको राईले जानकारी दिए ।

    तालतलैया केवल मनोरञ्जनको स्थल मात्र होइन हाम्रो पहिचान र कोशी प्रदेशकै आकर्षक पर्यटकिय क्षेत्र रहेकोले यसको संरक्षण सबैको साझा दायित्व रहेको स्थानिय युवाहरुले बताएका छन ।
    सरसफाइ अभियानमा समाजसेवी रोशन तामाङ, जीवन राई, लक्की राई, राजा बिष्टलगायतका युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । युवाहरूले भविष्यमा पनि यस्ता अभियान निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    स्थानीय युवाहरूको यो उदाहरणीय कदमले पर्यटकीय स्थल संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश दिएको छ । तालतलैयाको सुन्दरता जोगाउन सरोकारवाला निकाय, पिकनिक मनाउन आउने आगन्तुक र स्थानीयवासी सबैले सचेतना अपनाउन आवश्यक देखिएको छ ।

4565