• इटहरी । आज विश्वभर ख्रीष्टियन धर्मावलम्बीहरूले हर्षोल्लासका साथ बडा दिन अर्थात् ख्रीस्टमस पर्व मनाइरहेका छन् । येशू ख्रीष्टको जन्मदिनको सम्झनामा मनाइने यस पर्वले प्रेम, शान्ति, क्षमा र मानव सेवाको सन्देश दिने विश्वास गरिन्छ । यही अवसरमा इटहरीमा पनि विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी बडा दिन मनाइएको छ ।
    सोही अवसरमा इटहरीस्थित धरहरा चोकमा रहेको द साल्भेसन चर्चको प्राङ्गणमा बडा दिन ख्रीस्टमस शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । संयुक्त ख्रीस्टमस कार्यक्रम समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विशेष प्रार्थना, भजनसंग्रह पाठ, गायन तथा नृत्यसहितका विविध सांस्कृतिक प्रस्तुतिहरू राखिएका थिए । कार्यक्रममा सहभागीहरूको उत्साहपूर्ण उपस्थितिले माहोल थप रमाइलो बनेको थियो ।

    कार्यक्रमको समापन गर्दै द साल्भेसन आर्मी चर्चका अध्यक्ष मिनकुमार मगरले बडा दिन येशू ख्रीष्टको जन्मदिनको स्मरण मात्र नभई समाजमा शान्ति, प्रेम र एकताको सन्देश फैलाउने पर्व भएको उल्लेख गर्दै इटहरीका सम्पूर्ण समुदायलाई एकआपसमा सहकार्य र सद्भाव कायम गर्न पनी सहयोग पुग्ने बताए ।
    कार्यक्रमका क्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । सो अवसरमा घनश्याम सिवाकोटी र भरतकुमार राईलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मानित व्यक्तित्वहरूले सामाजिक सेवामा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा बोल्ने वक्ताहरूले बडा दिनले धर्म, जात र समुदायभन्दा माथि उठेर मानवता, आपसी सद्भाव र भाइचाराको भावना विकास गर्न प्रेरणा दिने बताए । येशू ख्रीष्टका शिक्षाले आजको समाजमा सहअस्तित्व, शान्ति र करुणाको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ थियो ।
    कार्यक्रम द साल्भेसन आर्मी चर्चका अध्यक्ष मिनकुमार मगरको अध्यक्षतामा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव केशबकुमार विष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य सपना परिवार, प्रमुख वक्ता राजेश भण्डारी, नेपाल कम्युनिष्ट पार्टीका इटहरी नगर अध्यक्ष राजकुमार आचार्य, प्रदेश कमिटी सदस्य रमेश खत्री लगायत धार्मिक, राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

4565