• इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) इटहरीको आयोजनामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
    प्रतियोगिता इटहरी स्थित सुनसरी प्याब्सनको सभाहलमा आयोजना गरिएको थियो, जहाँ नगर प्याब्सनमा आवद्ध २७ माध्यमिक तहका विद्यालयका २७ जना प्रतिभावान विद्यार्थीहरूले आफ्नो प्रस्तुतिबाट उपस्थित सबैको मन जितका थिए ।
    प्रतियोगितामा सहभागी विद्यार्थीहरूले “सामाजिक सञ्जाल अवसर कि चुनौती भन्ने समसामयिक विषयमा धाराप्रवाह विचार प्रस्तुत गरेका थिए ।
    उनीहरूका प्रस्तुतीको मूल्यांकन निर्णयक मण्डलका सदस्य मिन कुमार नवोदित, अभय कुमार राई र प्राप्ताङ्क व्यवस्थापक रञ्जन भट्टराईले गरेका थिए ।
    कार्यक्रममा नगर प्याब्सन इटहरीका अध्यक्ष सुर्यमणी निरौलाले विद्यार्थीहरूमा लुकेको प्रतिभा पहिचान गर्दै बोल्ने क्षमताको विकास गर्न यस्तो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए ।

    उनले नगर स्तरीय प्रतियोगिताबाट उत्कृष्ट ५ जनालाई चयन गरी प्याब्सन सुनसरी स्तरमा प्रतिनिधित्व गराउने उद्देश्य रहेको जानकारी दिए ।
    सोही प्रतियोगितामा प्रथम,दोस्रो,तेस्रो र सान्त्वना हुनेहरुलाई सिल्ड,प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
    कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेश कुमार शाहले विद्यार्थीहरूमा वक्तृत्वकला विकास हुनु नेतृत्व क्षमताको आधार भएको बताउँदै निरन्तर यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई भविष्यको जीवनमा मार्गदर्शन गर्ने धारणा व्यक्त गरे ।
    सो अवसरमा प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकाल (नेलसन), विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षकहरूको उपस्थिति रहेको थियो । प्रतियोगिताले विद्यार्थीहरूलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण प्रदान गर्नुका साथै सामाजिक विषयप्रति सचेत बन्न प्रेरित गरेको सहभागीहरूको प्रतिक्रिया रहेको छ ।
    नगर प्याब्सन इटहरीको सक्रियतामा सम्पन्न यो प्रतियोगिता विद्यार्थीहरूको शैक्षिक तथा नेतृत्व सीप अभिवृद्धिमा टेवा पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

4565