• काठमाडौं । गत मंगलबारदेखि रोकिएको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुचारु भएको छ । शुक्रबार फाट्टफुट्ट मात्र गुडेका सवारी साधन आज बिहानैदेखि बाक्लो संख्यामा चल्न थालेका हुन् ।

    चितवनतर्फबाट पनि काठमाडौं आउने बस सञ्चालनमा आएका छन् ।

    जेनजी आन्दोलनकै क्रममा सोमबार नयाँ बानेश्वर क्षेत्र बाहेक अन्यत्र सवारीसाधन चलिरहेका भए पनि मंगलबारदेखि उपत्यकाभर प्रदर्शन फैलिँदा सम्पूर्ण यातायात ठप्प भएको थियो । नेपाली सेनाले लगाएको कर्फ्युका कारण जनजीवन प्रभावित भएको थियो ।

    तर शनिबार बिहानैदेखि कर्फ्यु हटाइएपछि राजधानी सामान्य स्थितितर्फ फर्किएको छ । सार्वजनिक बस, ट्याक्सीलगायतका सवारी साधन सडकमा दौडिरहेका छन् भने पसलहरु पनि खुल्न थालेका छन् । आन्दोलनका क्रममा क्षति पुगेका पसल र घर–घरमा सरसफाइको काम सुरु भएको छ ।

    मंगलबार रातिदेखि सुरक्षा व्यवस्थाका लागि सडकमा खटिएको सेना शनिबार बिहानपछि फिर्ता भइसकेको छ ।

4565